सूचनाको शक्ति - The Power Of Information

        

किन हुन्छ अनियमित महिनावारी ?

सामान्यतया किशोरी अवस्थामा प्रवेश गरेपछि महिनावारी सुरु हुन्छ । प्रायः महिनावारी चक्र २८ दिनको फरकमा हुन्छ । कहिलेकाहीँ एक हप्ता पर पनि जान सक्छ । तर, कहिलेकाहीँ स्वास्थ्य समस्या तथा हर्मोनमा आउने परिवर्तनले यो चक्रमा अनियमितता पनि हुने गर्दछ ।

२१ दिनभन्दा अघि र ३५ दिनभन्दा ढिला गरी महिनावारी हुने, रगत धेरै वा थोरै बग्ने, महिनावारी नै नहुनेजस्ता समस्या हुन्छ । यो समस्यालाई महिनावारी गडबडी अर्थात् अनियमित महिनावारी भनिन्छ ।

किन हुन्छ ?

शरीरमा हुने विभिन्न ग्रन्थिबाट उत्पादन हुने हर्मोनको तालमेलपछि महिनावारी सुरु हुन्छ । थाइराइड, हर्मोनको समस्या, परिवार नियोजनका साधनको प्रयोग, रगत सम्बन्धी रोग, अण्डाशय, पाठेघर सम्बन्धी समस्या, मोटोपना, तनाव, एकैपटक धेरै तौल कम गर्ने र डाइटिङ गर्ने महिलामा महिनावारी अनियमित हुन सक्छ । त्यस्तै अस्वस्थकर जीवनशैलीले गर्दा पनि महिनावारी अनियमित हुन्छ । जंकफुड बढी खाँदा शरीरमा तौल बढ्ने हुँदा महिनावारी अनियमित हुने गर्दछ ।

यस्ता जटिलता देखिन सक्छ

अनियमित महिनावारी भइरहँदा मानसिक तनाव बढ्ने हुन्छ । धेरै रगत बगिरहेमा शरीरमा रगतको कमी भई रक्तअल्पता हुन्छ । कतिपयलाई सन्तान जन्माउन पनि गाह्रो हुन सक्छ । यस्ता समस्यालाई बेवास्ता गरिरहेमा क्यान्सरसमेत हुन सक्ने सम्भावना हुन्छ ।

समाधान

सबैभन्दा पहिला त महिलाले स्वस्थकर जीवनशैली अपनाउनुपर्छ । पोषिलो खानेकुरा खाने, पानी प्रशस्त पिउने, शरीरको तौल नियन्त्रणमा राख्ने, नियमित व्यायाम गर्ने, सरसफाइमा ध्यान दिने, धेरै तनाव नलिने, चिकित्सकको सल्लाहविना जथाभावी औषधिको प्रयोग नगर्ने र केही समस्या देखिएमा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिई औषधि उपचार गर्नुपर्छ ।

के खाने, के नखाने ?

भिटामिन सी – अनियमित महिनावारीबाट ग्रस्त महिलाले भिटामिन सीयुक्त फलफूल खानामा समावेश गर्नुपर्छ । यसमा मेवा, सुन्तला, कागती, किवीलगायत फल पर्छन् । मेवामा प्रशस्त मात्रामा केरोटिन पाइन्छ, यसले एस्ट्रोजन हर्मोन बढाउन सहयोग गर्छ ।

बेसार – बेसारका धेरै फाइदा छन् । यसले पाठेघरमा रक्तसञ्चार बढाउन सहयोग गर्छ । र, महिनावारीमा भएको गडबडीलाई ठीक गर्न सहयोग गर्छ । रातको समय सुत्नुअघि एक गिलास दूधमा बेसार मिसाएर खानु लाभदायी हुन्छ ।

सखर – सखरले पनि अनियमित महिनावारीको समस्या कम गर्न सहयोग गर्छ । अनियमित महिनावारी हुनेले सखर, तिल र बेसार मिसाएर खाने तथा त्यसपछि मनतातो पानी पिउने गर्नुपर्छ ।

अदुवा – अदुवाले महिनावारीमा देखिएको समस्यालाई कम गर्न सहयोग गर्छ । पहिले अदुवालाई स–साना टुक्रा पारेर काट्नुस् । यसमा मह मिसाएर खानुस् र त्यसपछि मनतातो पानी पिउनुस् ।

क्याल्सियमयुक्त खानेकुरा – दूधजन्य पदार्थ, बदाम, ओखर, माछा, तोफु, ब्रोकाउली लगायत सेवन गर्नुस् ।

जंकफुडबाट टाढा रहनुस् । नुन कम प्रयोग गर्नुस् । चिया–कफी कम पिउनुस् । हर्बल चिया खान सकिन्छ । मैदाबाट बनेका खानेकुरा सकभर नखानुस् । धूम्रपान र मदिरा सेवन नगर्नुस् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०८:०६