सूचनाको शक्ति - The Power Of Information

        

जस लिन पुनर्निर्माण नसकिँदै उद्घाटन

केपी ओलीले उद्घाटन गरेको धरहरा अझै अधुरो, पाँचौँ पटक म्याद थपिँदै

धरहरा पुनर्निर्माणको जस लिनकै लागि ओलीले ०७८ वैशाख ११ गते उद्घाटन गरेका थिए । पुनर्निर्माण नसकिँदै उद्घाटन गरेपछि ओलीको चर्को आलोचना भएको थियो ।

काठमाडौंको सुन्धारास्थित निर्माणाधीन धरहराको पाँचौँ पटक म्याद थप्ने तयारी गरिएको छ । निर्माण कम्पनी जीआईईपीसी–रमन–कन्ट्रक्सनले पाँचौँ पटक म्याद थपको माग गरेको हो ।

ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पुनर्निर्माणको काम कहिले सकिने भन्ने टुंगो छैन । ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले म्याद थपका लागि माग गरिएकाले पुनर्निर्माणबारे अहिले बोल्न नमिल्ने बताए ।

‘अहिलेसम्म चार पटक म्याद थप भइसकेको छ । पाँचौँ पटक म्याद थप गर्नका लागि सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन तथा आवास कार्यालयलाई निवेदन दिइसकिएको छ,’ नकर्मीले भने ।

पुनर्निर्माण नसकिँदै धरहराका जडान गरिएका लिफ्ट पनि जीर्ण बन्दै गएका छन् । धरहराको तल–माथि आवतजावत गर्न दुईवटा लिफ्ट जडान गरिएको थियो । दुवै लिफ्ट जाम भएका छन् । ०७२ साल वैशाख १२ को भूकम्पले धरहरा क्षतिग्रस्त बनेको थियो ।

त्यसपछि ०७२ फागुन ४ गते धरहरा पुनर्निर्माणका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा, मै बनाउँछु’ अभियान चलाएका थिए । त्यसपछि धरहरा पुनर्निर्माणका लागि ०७५ पुस ५ गते ओलीले धरहराको शिलान्यास गरेका थिए ।

धरहरा पुनर्निर्माणको जस लिनकै लागि ओलीले ०७८ वैशाख ११ गते उद्घाटन गरेका थिए । पुनर्निर्माण नसकिँदै उद्घाटन गरेपछि ओलीको चर्को आलोचना भएको थियो । आउँदो वैशाख ११ गते उद्धघाटनको दुई वर्ष बित्दैछ ।

तर, पुनर्निर्माणको काम सकिने कुनै संकेत छैन । धरहरा पुनर्निर्माणको काम अहिलेसम्म वित्तीयतर्फ ७० प्रतिशत र भौतिकतर्फ ८० प्रतिशत मात्रै सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । यसअघि चौथो पटक थपिएको म्याद चैत मसान्तमा सकिँदैछ ।

ठेकेदार कम्पनीका अनुसार अहिलेसम्म धरहरा पुनर्निर्माणमा दुई अर्ब १२ करोड रुपैयाँ खर्च भइसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा धरहरा पुनर्निर्माणका लागि तीन अर्ब ४८ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता बमोजिम ०७७ सालमै पुनर्निर्माण सकिनुपर्ने थियो । तर, कोरोना महामारीलगायतलाई कारण देखाउँदै पटकपटक म्याद थप हुँदै आएको छ । केही महिना पहिले सुनधाराको ऐतिहासिक डुँडमा ठेकेदार कम्पनीको डोजर चलेपछि करिब एक महिना पुनर्निर्माणको काम ठप्प भएको थियो ।

स्थानीय र काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरूले ठेकेदार कम्पनीले सुनधारा बनाउन नसक्ने भन्दै विरोध नै गरेका थिए । हाल ठेकेदार कम्पनीले म्याद थप्नुपर्ने भन्दै धरहरा पुनर्निर्माणको गति सुस्त बनाएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिन्छ । तर, भित्रबाट २२ तलाको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०७:२०