इजिप्ट महिलामा यौनेच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने पहिलो अरब राष्ट्र बनेको छ । बीबीसीकी स्याली नबिलले इजिप्टजस्तो रूढीवादी देशमा यसको बजार कस्तो छ भनेर बुझेकी छन् । पढौँ यो विवरण ।
ढुकुढुकी बढ्यो
‘मलाई निद्रा र रिङ्गटा लागेजस्तो भयो र मुटुको ढुकुढुकी बढ्यो ।’ ‘फिमेल भायग्रा’ भनिएको औषधि सेवन गरेपछि लेलाले यस्तो अनुभव गरिन् । महिलाका लागि बनाइएको सो औषधिको रासायनिक नाम फ्लिब्यान्सेरिन हो । पहिलो पटक सो औषधिले तीन वर्षअघि अमेरिकामा प्रयोगको अनुमति पाएको हो ।
एउटा स्थानीय औषधि कम्पनीले अहिले इजिप्टमा त्यसको उत्पादन गर्दैछ । लेला उनको छद्मनाम हो । पैँतीस वर्षको छेकोकी उनी एउटा रूढीवादी परिवारकी गृहिणी हुन् । इजिप्टका अरू महिलाले जस्तै उनी पनि यौनसँग सम्बन्धित विषयमा कुरा गर्दा आफ्नो परिचय खुलाउन चाहन्नन् । उनको समाजमा यौनको कुरालाई सहज रूपमा लिइँदैन ।
विवाह भएको झन्डै १० वर्षपछि उत्सुकतावश आफूले सो औषधि प्रयोग गर्ने निर्णय गरेको उनी बताउँछिन् । लेला स्वस्थ छिन् । तर उनले सो औषधि चिकित्सकको सिफारिसविनै किनेकी हुन् । त्यसो गर्नु इजिप्टमा सामान्य हो । उनी भन्छिन्, ‘औषधिपसलेले मलाई प्रत्येक राति एउटा चक्की औषधि केही हप्ता खान भने । उनले त्यसबाट कुनै नराम्रो असर नहुने बताइन् ।
लेला भन्छिन्, ‘म र मेरा श्रीमान् के हुँदोरहेछ भनेर हेर्न चाहन्थ्यौँ । मैले एकचोटि प्रयास गरेँ, तर अब कहिल्यै पनि गर्दिनँ ।’ इजिप्टमा पति र पत्नीबीच सम्बन्धविच्छेद हुने दर बढिरहेको छ । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूले दम्पतीका बीच यौन समस्यालाई त्यसको कारण मानेका छन् ।
फ्लिब्यान्सेरिन इजिप्टमा उत्पादन हुन्छ । औषधि उत्पादकले १० इजिप्टेली महिलामध्ये तीन जना कम यौनेच्छाबाट पीडित भएको बताएको छ । तर यो अनुमान मात्र हो । त्यहाँ यसबारे तथ्याङ्क सङ्कलन गर्नु सजिलो छैन । सो कम्पनीका प्रतिनिधि अश्रफ अल माराघी भन्छन्, “यो उपचार यहाँ अत्यावश्यक छ । यो एउटा क्रान्ति नै हो ।’
उनका अनुसार यौनेच्छा बढाउने औषधि सुरक्षित र प्रभावकारी छ । बिस्तारै रिङ्गटा र निद्रा लागेको जस्तो हुने असर हराउँछ भन्ने उनको दाबीसँग चिकित्सकहरू असहमत छन् । सो औषधिले रक्तचाप डरलाग्दो तहसम्म घटाइदिने र मुटु एवम् कलेजोका समस्या भएका व्यक्तिलाई हानि पुर्याउन सक्ने चेतावनी एक औषधिव्यवसायी दिन्छन् ।
उत्तरी कायरोमा एउटा औषधिपसल सञ्चालन गर्ने मुराद सदिकका अनुसार उनी औषधि किन्न आउने ग्राहकहरूलाई त्यसका नराम्रा असरबारे पनि बताउँछन् । उनी भन्छन्, ‘तर उनीहरू किन्छौँ नै भन्छन् । एक दिनमा १० जनाजति मानिस सो औषधि किन्न आउँछन् । तीमध्ये अधिकांश पुरुष हुन्छन् । औषधि माग्न महिलाहरू लाज मान्छन् ।’
‘सबै मानसिक हो’
सदिकको पसलमा टाँगिएको विज्ञापनमा फ्लिब्यान्सेरिनलाई ‘गुलाबी चक्की’ भनिएको छ । पुरुषले सेवन गर्ने भायग्रालाई इजिप्टमा ‘नीलो चक्की’ भन्ने गरिन्छ । तर उत्पादकहरू सो औषधिलाई ‘फिमेल भायग्रा’ भन्नु उचित नहुने बताउँछन् । माराघी भन्छन्, ‘सञ्चारमाध्यमले त्यो नाम राखिदिएका हुन्, हामीले हैन ।’
लिङ्गको उत्तेजनासँग सम्बन्धित समस्या हुँदा भायग्राले लिङ्गमा रक्तसञ्चार सुधारेर उपचार गर्छ । तर फ्लिब्यान्सेरिन उदासीको उपचार गर्न विकसित एन्टिडिप्रेसन्ट औषधि हो र यसले मस्तिष्कमा रासायनिक तत्त्वको सन्तुलन कायम गराएर कामेच्छा बढाउँछ । सेक्स थेरपिस्ट हेबा कट्ब पनि ’फिमेल भायग्रा’ झुक्याउने शब्द हो भन्ठान्छिन् ।
उनले आफ्ना बिरामीहरूलाई त्यो औषधि दिने गरेकी छैनन् । उनी भन्छिन्, ‘शारीरिक वा मानसिक समस्या भएका महिलामा यसले कहिल्यै काम गर्दैन । महिलाका लागि यौन एउटा भावनात्मक प्रकिया हो । यो मनबाट सुरु हुन्छ । यदि पतिले दुर्व्यवहार गर्छन् भने महिलाले कहिल्यै स्वस्थ रूपमा यौनसम्बन्ध राख्न सक्दैनन् । औषधिले पनि काम गर्दैन ।’
फ्लिब्यान्सेरिनको प्रभावकारिता एकदमै थोरै भएको र जोखिम लिनु नहुने उनको मान्यता छ । उनी चेतावनी दिन्छिन्, ‘रक्तचाप घटाउनु यसको एकदम गम्भीर असर हो ।’ लेला आफूले सम्बन्धविच्छेदका लागि निवेदन दिएका धेरै महिलालाई चिनेको बताउँछिन् । विवाहमा तनाव उत्पन्न भएपछि उनीहरूको यौनजीवन प्रभावित भएको उनको ठम्याइ छ ।
‘यदि तपाईँ आफ्ना पतिलाई माया गर्नुहुन्छ तर, उनी यौनिक रूपमा दुर्बल छन् भने तपाईँले उनलाई उपचारका लागि सहयोग गर्नुहुन्छ । यदि दुर्व्यवहार गर्ने पति छ भने ऊ ओछ्यानमा सिपालु छ भने पनि तपाईँको रुचि घट्छ । पुरुषहरूले यो कुरा बुझ्दैनन्,’ लेलाले भनिन् ।
सत्यपाटी संवाददाता । काठमाडौं