सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश नामाकरणमा विवाद

प्रदेश १ को नाम ‘कोशी’ दुई तिहाईले पास हुने संकेत

प्रदेश १ को नाम ‘कोशी’ राख्न कांग्रेस, एमाले र राप्रपा एकमत छन् भने माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सहमत छैनन् ।

प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा प्रदेश नामाकरणको विषयले प्रवेश पाउने भएको छ ।

गठन भएको पाँच वर्षपछि प्रदेश १ को संसद्ले आफ्नो प्रदेशको नामाकरण गर्न लागेको हो । प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा पेस गर्ने तयारी छ ।

प्रदेशको नाम कोशी राख्ने सन्दर्भमा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा एकमत छन् । तर, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भने सहमत छैनन् । आजको प्रदेशसभामा नामाकरण सम्बन्धी प्रस्ताव लैजान दिने तर प्रदेशको नाम कोशी प्रस्ताव भएमा फरक मत राख्ने यी तीन पार्टीको तयारी रहेको छ ।

माओवादी प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बो भन्छन्, ‘नामाकरणको प्रस्ताव लैजान दिन्छौं । बहुमतले पारित गरे गर्छ । तर, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी कोशी नाममा फरक मत राख्दछ । हामी पहिचानकै पक्षमा छौं । तर, अहिले पहिचान पक्षधरको बहुमत छैन ।’

अघिल्लो प्रदेशसभामा प्रदेशको नाम कोसी, सगरमाथा, विराट, कञ्चनजङ्घामध्ये एउटा राख्ने तयारी भएको थियो । तर प्रदेशको नाममा जातीय पहिचान जोड्ने की नजोड्ने भन्ने विषयमा विवाद हुँदा प्रदेशको नाम राखिएको थिएन ।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र जसपाबीच केन्द्रका शीर्ष नेताहरूको सहमति र सुझावको आधारमा ‘कोशी’ नामकरण गर्ने सहमति भएको स्रोतले बतायो ।

प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत चाहिन्छ । प्रदेश १ मा ९३ जना सांसद् छन् । दुई तिहाइ पुग्न ६३ जना सांसद चाहिन्छ । प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार ११:५४