देश हाँक्न सक्ने गफ
हरेक नेपालीले गर्दछन्
अनि हरेक नेपाली
राजनीतिमा विज्ञ छन
अब हेरौँ उनीहरूको सपना ।
गुटको राजनीतिले वाक्क छन्
तर चुनाव सबैलाई चाहिन्छ
बिना गुट चुनाव सम्भव छैन ।
कसैलाई गाँस, बास, कपास चाहिएको छ
कसैलाई नैतिकता
झुक्ने र झुकाउनेमा बानी परेको कर्मचारीतन्त्रमा
जसले कर्मचारीको अगाडी झुक्यो
उसको काम भयो
जसले कर्मचारीहरूलाई उनीहरू भन्दा शक्तिशाली व्यक्तिबाट झुकायो
उनीहरूको काम भयो
बाँकीको काम हुँदैन ।
पढेलेखेकाको सपना
विभन्न सेवा आयोगमा नाम निकालेर सरकारी जागीर खाएर
राम्रो पैसा कमाउने हो
यो खोट उनीहरूको नैतिकतामा हो
सरकारी जागिरले कमाएको देखेर हो ।
नपढेकाको सपना
विदेश भासिनु नै हो
सकभर खोज्छन
फ्री भिषा, र फ्री टिकट ।
पढे लेखेर देशमा
केहि नहुने छाँटकाँट देख्ने जति
पश्चिमा मुलुकमा भासिन्छन ।
यहाँभन्दा राम्रो सपना
नेपालीले कहिले देख्लान
सायद त्यसैले
सपना देखाउने राजनीतिक नेताको पछिलाग्दछन् ।
प्रसङ्ग बदलौं
एक पल्ट धार्मिक भक्तजनले
उसलाई नेपालको विशेषता सोधे
उसले बोल्यो
‘नेपाली जनता’
भक्तजनले उसलाई धार्मिक पात्र बनाउन
अथक मेहेनत गर्यो
कहिले रावण बनाउन खोजे
कहिले महिषासुर
उसले बोल्यो
‘ए…मुर्खहरु
थप धार्मीक पुस्तक पढेर
नयाँ पात्रको नाम पनि खोजेर भट्याओ
म देउसीरे भन्दिन्छु’
यस्तै छ
नेपाली जनतको विशेषता ।
उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
‘हे ईश्वर, नैतिकता भनेको के हो ?’
तब ईश्वरले जवाफ दिए
‘सत्य व्यवहार’
उसको सपना नैतिक नेपाल थियो ।
अर्जुन दाहाल । काठमाडौं