सूचनाको शक्ति - The Power Of Information

        

एलन मस्क फेरि विश्वकै धनी व्यक्ति

अमेरिकी अर्बपति एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बन्नुभएको छ ।

ब्लुमबर्गको तथ्याङ्कअनुसार दोस्रो नम्बरमा झरेका मस्क आज टेस्ला कम्पनीको शेयर बढेसँगै पुनः शीर्ष स्थानमा उक्लनुभएको सीएनएनले जनाएको छ ।

मस्क पहिलो स्थानमा उक्लिएपछि गएको डिसेम्बरदेखि निरन्तर पहिलो नम्बरमा रहनुभएका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टले दोस्रो नम्बरमा झर्नुभएको छ । मस्कको कुल सम्पत्ति १ सय ८७ बिलियन डलर नाघेको छ ।

अर्नाल्टको सम्पत्ति १ सय ८५ बिलियनभन्दा केही बढी रहेको छ । मस्कले ट्विटर किनेपछि उहाँको कार निर्माता कम्पनी टेस्लाको शेयर बजार पनि तीव्ररूपमा घटेको थियो ।

तर सन् २०२३ सुरु भएदेखि टेस्लाको शेयर बढिरहेको छ । मस्कले सन् २०२२ मा २ सय ३ अर्ब डलर सम्पत्ति गुमाउनुपरेको थियो । मस्कको सम्पत्ति आज एकै दिन झन्ड ७ अर्ब डलर थपिएको छ ।

यसैबीच भारतीय अर्बपति गौतम अदानीको सम्पत्ति घट्ने क्रम अझै रोकिएको छैन । सन् २०२३ को सुरुमा १ सय १९ अर्ब डलर सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीको तेस्रो नम्बरमा पर्नुभएका अदानीको सम्पत्ति एक महिनामा ८२ अर्ब डलरभन्दा धेरैले घटेको छ ।

उहाँ धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरबाट ३२ औँ नम्बरमा झर्नुभएको छ । अमेरिकी सर्ट सेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले गएकाे हप्ता भारतीय व्यवसायी गौतम अदानीमाथि जालसाजीको आरोप लगाउँदै एक प्रतिवेदन सार्वजनिक गरेपछि उहाँको सम्पत्ति गुम्दै १ सय १९ अर्ब डलरबाट ३७ अर्ब डलरमा झरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १९:२७