सूचनाको शक्ति - The Power Of Information

        

नयाँ भवन बनेपछि विद्यालयमा दुई दिने उत्सव

पानी चुहिने जीर्ण भवनका कारण विद्यार्थीको पठनपाठनमा लामो समयदेखि असर परेको रोल्पाको एक विद्यालयमा नयाँ भवन बनेको छ ।

नयाँ भवन बनेको खुशियालीमा विद्यालयले दुईदिने उत्सव मनाएको छ । रून्टिगढी गाउँपालिका–१, राङजातमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय रिठाबोटले गत बिहीबार र शुक्रबार विभिन्न कार्यक्रम गरेर उत्सव मनाएको बताइएको छ ।

विद्यालयमा संघीय अनुदानको ३० लाख र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ३६ लाख गरी जम्मा ६६ लाख रुपैयाँमा ८ कोठे पक्की भवन बनेपछि उत्सवमय तरिकाले त्यसको उद्घाटन गरिएको हो ।

उत्सवमा शिक्षक, अभिभावक र विद्यार्थीको सहभागितामा विभिन्न साँस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा पूर्व विद्यार्थी, पूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरूको पुनर्मिलन तथा उनीहरूलाई सम्मान गरिएको थियो ।

दुई दिने उत्सवको पहिलो दिन प्रमुख अतिथि बनाइएकी प्रतिनिधिसभाका सांसद ईश्वरी घर्तीले भवनको उद्घाटन गरेकी हुन् । भवन उद्घाटनको क्रममा सांसद घर्तीले विद्यालय भवन निर्माणसँगै अब गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने सुझाव दिएकी छन् ।

‘शिक्षकहरू बीचमा आफ्नो विषयमा कसले धेरै विद्यार्थी उत्तीर्ण गराउने भन्ने प्रतिस्पर्धा हुनुपर्छ’ उनले भनिन्, ‘प्रत्येक विषयमा विद्यार्थीलाई अब्बल बनाउनेतर्फ ध्यान जाओस् ।’ गत शैक्षिक सत्रमा सो विद्यालयबाट १० जना विद्यार्थीले बालविबाह गरेपछि अध्ययन छुटाएका थिए ।

त्यसतर्फ शिक्षक र अभिभावक दुबै सचेत हुन घर्तीले सुझाव दिइन् । ‘अभिभावकहरूले ऋण वा सापटी लिएर भए पनि आफ्ना बालबालिकालाई महङ्गो मोबाइल किनिदिनुहुन्छ’ घर्तीले भनिन्, ‘त्यसबाट बालबालिकाको पढाईमा असर पर्ने र बालबिबाह तथा अन्य विकृति बढाउन सहयोग पुगेको छ ।’

कार्यक्रममा रून्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले विद्यालयको प्रगतिमा गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी हुन नदिने बताए । गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले विद्यालयको भवन निर्माणमा आफ्नो तर्फबाट विगतमा आवश्यक पहल गरिएको स्मरण गरेका थिए ।

उनले आगामी दिनमा पनि विद्यालयको विकासमा आफ्नो तर्फबाट पहलकदमी कायमै रहने बताए । वडाध्यक्ष थमबहादुर घर्तीले आफूहरू नयाँ जनप्रतिनिधिको रुपमा आएको थोरै समय भएकाले विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि अहोरात्र खट्न तयार रहेको बताए ।

‘विद्यालयमा नयाँ भवन बनेको छ,’ वडाध्यक्ष घर्तीले भने ‘अझै विद्यालयमा शौचालय र खेल मैदानको अभाव छ, त्यसमा पनि हामीले आवश्यक प्रक्रिया अघि बढाएका छौं ।’ विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि महेश न्यौपानेले रून्टिगढी गाउँपालिकाभरि एउटा पनि नमूना विद्यालय नभएकाले त्यसतर्फ अग्रसर हुन आग्रह गरे ।

विद्यालयको हालसम्मको अवस्था, विगत र वर्तमान समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक झकुप्रसाद वलीले भौतिक पूर्वाधारको विकाससँगै प्रविधियुक्त दुनियाँमा प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा अब विद्यालय लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १३:१५