सूचनाको शक्ति - The Power Of Information

        

मेसीको ७००औं गोल, पीएसजीको सहज जित

लिओनल मेसीले क्लब करियरको ७००औं गोल पूरा गरेका छन् ।

आइतबार राति फ्रेन्च लि वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दोस्रो स्थानको मार्सेलाई ३-० ले पराजित गर्दा मेसीले उक्त कोशेढुंगा पूरा गरे ।

पीएसजीका लागि किलिएन एमबाप्पेले दुई गोल गरे । एमबाप्पेले २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले २९औं मिनेटमा अग्रता दोब्बर पारे । एमबाप्पेले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो तथा पीएसजीका लागि तेस्रो गोल गरे ।

एमबाप्पेले पीएसजीका लागि सर्वाधिक २०० गोल गर्ने डिनसन कभानीको कीर्तिमान पनि बराबरी गरे ।

यस जितपछि पीएसजीले मार्समाथि ८ अंकको अग्रता समेत बनाएको छ ।

मेसी क्रिस्टियानो रोनाल्डोपछि क्लब करियरमा ७०० गोल पूरा गर्ने खेलाडी बने ।

मेसीले पीएसजीका लागि २८औं गोल गर्दै उक्त उपलब्धि हासिल गरेका हुन् । उनले २०२१ मा फ्रेन्च क्लब जानुअघि बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका थिए ।

३५ वर्षीय मेसीले बार्सिलोनामा ३५ उपाधि जितेका थिए भने कीर्तिमानी ७ पटक बालोन डे ओर अवार्डसमेत जितेका छन् ।

यस्तै सोमबार हुने फिफा दी बेस्ट अवार्डमा समेत मेसी दाबेदारको रुपमा छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार ०८:१४