आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल-पपुवा न्युगिनी (पि.एन.जी) र युएईको त्रिकोणात्मक श्रृंखला साेमबारबाट युएईमा सुरु हुने भएकाे छ ।
श्रृंखलाको पहिलो खेलमा नेपालले पि.एन.जी.को सामना गर्ने भएकाे हाे । यो खेल युएईमा नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि सुरु हुने भएकाे छ । श्रृंखलामा नेपाल, युएई र पिएनजीले दोहोरो राण्ड रोबिन लिगको आधारमा खेल्ने भएका छन् ।
हालै काठमाडौंमा भएको स्कटल्याण्ड र नामिबिया सम्मिलित श्रृंखलाका सबै खेल जित्दै हौसिएको नेपाल युएईमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । ७ टोली सहभागी विश्वकप लिग-२ क्रिकेटको अंक तालिकामा युएई, नेपाल र पि.एन.जी क्रमशः पाँचौ, छेटौं र सातौं स्थानमा रहेका छन् ।
३६ खेलबाट ५० अंक जोडेको स्कटल्याण्डले विश्वकप लिग-२ को उपाधि जितिसकेको छ । समान खेलबाट ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा छ भने ३९ अंकसहित नामिबिया तेस्रो तथा ३५ अंकसहित अमेरिका चौथो स्थानमा रहेको छ ।
२८ खेलबाट २९ अंक जोडेको युएई पाँचौं र २६ अंक जोडेको नेपाल छैटौं तथा ५ अंक मात्रै जोडेको पिएनजी सातौं स्थानमा रहेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ