सूचनाको शक्ति - The Power Of Information

        

बसाइँसराइको प्रभाव

घरजग्गा कारोबार १० जिल्लामा उच्च, कहाँ कति ?

लुम्बिनीका तीन जिल्ला रुपन्देही, दाङ र बाँकेमा बढी कारोबार भइरहेको छ ।

काठमाडौं उपत्यका बाहिर सबैभन्दा बढी घरजग्गा कारोबार प्रदेश १ र लुम्बिनीमा हुने गरेका छन् । प्रदेश १ का ३ जिल्ला र लुम्बिनीका ३ जिल्लाको कारोबार अत्यधिक छ ।

प्रदेश १ का झापा, मोरङ र सुनसरीमा कारोबार बढी रहेको छ भने लुम्बिनीका रुपन्देही, दाङ र बाँकेमा बढी कारोबार भइरहेको छ । काठमाडौं बाहिर बढी कारोबार हुने तराईका जिल्लामा बढी देखिएको छ । पहाडबाट तराईमा बसाइँसराइको प्रभाव यी जिल्लामा परेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार देशभर २०७९ को माघमा १ लाख १८ हजार घरजग्गा कारोबार भएका छन् । प्रदेश १ का ३ जिल्लाबाट मात्रै १२ हजार ३०६ वटा कारोबार भएका छन् । लुम्बिनीका ३ जिल्लामा भने १३ हजार ९२१ वटा कारोबार भएका छन् ।

चालू आर्थिक वर्षको सुरुमा सुस्ताएको घरजग्गा कारोबार माघसम्म आउँदा बढ्दै गएको छ । अघिल्ला वर्षको तुलनामा भने अझै कम छ । २०७८ को माघमा १ लाख ३२ हजार कारोबार भएका थिए । २०७७ माघमा घरजग्गा कारोबार उच्च रहेको थियो । उक्त समय २ लाख ११ हजार वटा कारोबार भएका थिए ।

झापा, मोरङ र सुनसरी उच्च

झापाका २ वटा कार्यालयबाट ५ हजार ९५९ वटा कारोबार भएको देखिएको छ । जसमा भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर झापाबाट ३ हजार ८६१ कारोबार हुन्छ । दमक कार्यालयबाट २ हजार ९८ वटा कारोबार भएको छ । आघिल्लो वर्ष माघमा ७ हजार ११८ वटा कारोबार भएका थिए । २०७७ माघमा झापाबाट १२ हजार ६९२ वटा कारोबार भएका छन् ।

मोरङ

मोरङबाट ६ हजार ९१२ वटा कारोबार भएका छन् । मालपोत कार्यालय बेलबारी मोरङले ३ हजार ८३३, विराटनगर कार्यालयबाट २८ सय ३३ वटा र रङगेली कार्यालयबाट ७०६ वटा कारोबार रहेको छ । अघिल्लो वर्ष ७ हजार ८१८ वटा कारोबार भएका छन् । घरजग्गा कारोबार उच्च भएको समयमा १४ हजार १५८ वटा कारोबार भएका छन् ।

सुनसरी

सुनसरी जिल्लाबाट ४ हजार ८०० वटा कारोबार भएका छन् । भूमिसुधार तथा मालपोत कार्यलय इनरुवा ४ हजार १५, धरानबाट ७८५ कारोबार भएका छन् । अघिल्लो वर्ष सुनसरीमा ६ हजार ४७८ वटा कारोबार भएका थिए । ९ हजार ९७८ वटा कारोबार भएका थिए ।

मधेश प्रदेशमा धनुषा

मधेश प्रदेशमा सबैभन्दा बढी जग्गा कारोबार धनुषामा भएका छन् । माघ महिनामा ३ हजार १७१ वटा कारोबार भएका छन् । अघिल्लो वर्ष ३ हजार ६८४ वटा रहेका छन् । २०७७ मा ५ हजार १८९ वटा कारोबार भएका थिए । धनुषपछि मधेश प्रदेशमा बारा र रौतहटमा बढी कारोबार हुने देखिएको छ ।

बागमती प्रदेशमा चितवन

चितवनमा ४ वटा कार्यालय मार्फत सेवा हुँदै आएको छ । माघमा ४ हजार ७८९ वटा कारोबार भएका छन् । मालपोत कार्यालय भरतपुबाट २८ सय १७ वटा, माडीबाट २०५, चनौली कार्यालयबाट ८१३ र खैरहनी कार्यालयबाट ९६३ वटा कारोबार भएका छन् । अघिल्लो वर्ष ५ हजार ४२५ वटा कारोबार भएका थिए । २०७७ चितवनमा ९ हजार ३० वटा कारोबार भएका छन् ।

गण्डकीको कास्की

कास्कीमा ४ हजार १९४ घरजग्गा कारोबार भएका छन् । मालपोत कार्यलयमा कास्कीबाट २ हजार ९५३ र लेखनाथको कार्यालयले १२ सय ४१ वटा कारोबार भएका छन् । कास्कीमा अघिल्लो वर्ष ३ हजार ७६८ वटा कारोबार भएका थिए । २०७७ माघमा ६ हजार ७१७ वटा कारोबार भएका छन् । गण्डकी प्रदेशको राजधानी कास्की रहेको छ ।

लुम्बिनीका ३ जिल्लामा बढी कारोबार
दाङ

दाङ जिल्लाका ३ वटा कार्यालयबाट ४ हजार ४७३ वटा कारोबार भएका छन् । भूमिसुधार तथा मालापोत कार्यालय घोराहीबाट १७ सय ३५, तुल्सीपुर कार्यालयबाट २ हजार ७ कारोबार र लमही कार्यालयबाट ७३१ वटा कारोबार भएका छन् । अघिल्लो वर्ष दाङमा ४ हजार ७७४ वटा कारोबार भएका थिए । २०७७ मा ७ हजार ६१२ वटा कारोबार भएका छन् ।

रुपन्देही

रुपन्देहीका ३ वटा कार्यालयबाट ५ हजार ६४३ वटा कारोबार भएका छन् । बुटवल कार्यालयबाट २७ सय ५०, भैरहवाबाट २४ सय ५२ वटा भएका छन् भने मझगवा कार्यालयबाट ४४१ वटा कारोबार भएका छन् । अघिल्लो वर्ष ५ हजार ४५४ वटा कारोबार भएका थिए । २०७७ मा ७ हजार ४०९ वटा कारोबार रहेको छ ।

बाँके

भूमिसुधार तथा मालपोत कार्यालय नेपालगन्ज बाँके ३ हजार ८०५ वटा कारोबार भएको छ । अघिल्लो वर्ष ३५ सय ७७ वटा कारोबार भएका थिए । २०७७ मा बाँकेमा ५ हजार ६०६ वटा कारोबार भएका थिए ।

कर्णाली प्रदेशमा सुर्खेत

सुर्खेतबाट २ हजार ३४१ वटा कारोबार भएका छन् । जसमा सदरमुकामबाट १९ सय ३६ र मेहेलकुनाबाट ४०५ वटा कारोबार भएको छ । २०७८ मा सुर्खेत कार्यलयबाट १८ सय ५६ वटा कारोबार भएका थिए । सुर्खेतकै मेहेलकुनाबाट ४८४ वटा कारोबार भएका छन् ।

सुदूरपश्चिममा कैलाली

सुदुरपश्चिमा कैलाली जिल्लामा सबैभन्दा बढी कारोबार भैरहेको छ । कैलालीका २ कार्यालयबाट १ महिनामा ४ हजार ३५ वटा घरजग्गा कारोबार भएका छन् । २०७८ माघमा कैलालीमा ३ हजार ४१८ वटा कारोबार भएका थिए । २०७७ मा ६ हजार ५०१ वटा कारोबार भएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतवार ०८:१७