केहि हुल धार्मिक भक्तजन आए
आफ्नो भगवानको बचाउमा
भगवानको निन्दा भयो भन्दै ।
उसले बोल्यो
‘आफ्नो भगवानलाई आफ्नै मन मन्दिरमा सजाउ
आफ्नै शरीरमा सजाउ’
भिड चुप भयो
उसले त्यस्ता भिडलाई देखेर बोल्यो
‘भक्त हुनुको स्वार्थ पोख’
आफ्नो स्वार्थ पोख्न कोहि तयार भएनन् ।
धर्म र विज्ञानको तुलना गर्नेले
न त धर्म पढे
न त विज्ञान ।
विज्ञानले धर्ममा व्याख्या गरेको शक्तिको पनि
खोज अनुसन्धान गर्दछ
शक्ति फेला परे शक्तिको रहस्य बुझ्न
विभन्न विधाहरू छन्
दैनिक हजारौं अनुसन्धान प्रकाशित हुन्छन् ।
उसले बोल्यो
‘ज्ञान र सत्यता नदिने व्यक्ति भगवान हुन सक्दैनन्’
त्यसैले होला
विज्ञान आइडियल कुरा नकारे पनि खोज्दछ
किनकि धार्मिक ग्रन्थमा उल्लेख गरिएका भगवान
आइडियल छैनन् ।
प्रसङ्ग बदलौं
उ बाट ज्ञान हासिल गर्न खोज्नेको नारा थियो
ज्ञान बाँड्नुपर्दछ
अनि त्यहि हुल
ज्ञान पाएपछि ज्ञान बाँड्न डरायो
उसले बोल्यो
‘भगवानले अन्धकार हटाई उज्यालोतर्फ दोहोर्याउँदछन्’
त्यसैले अन्धकारमा राख्न खोज्न व्यक्ति भगवान हुँदैनन् ।
भक्तजनकै हुलमा
जो आफ्नो चातुर्यता प्रदर्शन गर्न चाहन्थ्यो
उसले आफु मनको शान्ति खोज्न आएको कुरा
स्वीकार्न सकेन
न त आफ्नो लिँडे बलमा काबु राख्न सकियो ।
उसले ती भिडलाई निजी स्वार्थ पोख्न नसकेर
तड्पिएका व्यक्तिको रुपमा हेर्यो
अनि भक्ति गर्यो ईश्वरको ।
ईश्वर प्रकट भए
अनि उसले सोध्यो
‘स्वार्थ भनेको के हो प्रभु ?’
ईश्वरले जवाफ दिए
‘आफ्नो व्यक्तिगत फाइदा हेर्नु’
उसले पुनः सोध्यो
‘स्वार्थ कसरी श्रृजना हुन्छ’
ईश्वरले जवाफ दिए
‘व्यक्तिगत दुःखको कारण’
संसारमा दुःख नभएको को होला
त्यसैले उसले संसारलाई नै स्वार्थी ठहर्यायो ।
अर्जुन दाहाल । काठमाडौं