सूचनाको शक्ति - The Power Of Information

        

बजेट निकासा नहुँदा तटबन्धन निर्माण अलपत्र

फाइल तस्वीर


कृष्ण अधिकारी । बाँके । बाँकेको राप्ती नदी नियन्त्रणका लागि सुरु गरिएको तटबन्ध निर्माणको काम समयमै बजेट निकासा नहुँदा अलपत्र परेको छ । नदी किनारका बस्तीहरुलाई कटान र डुबानबाट जोगाउन जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय दाङले सुरु गरेको तटबन्ध निर्माण अलपत्र परेको हो ।
तटबन्धका लागि ७३ करोड ४० लाख आवश्यक भए पनि चालु आर्थिक वर्षको बैसाख मसान्तसम्म करिब १२ करोड मात्रै निकासा भएका कारण कामले गति लिन नसकेको आयोजना प्रमुख विनोदकुमार चापागाईले बताए । काम सम्पन्न भइसकेका योजनाको रकम भुक्तानी तथा लक्ष्य अनुसार तटबन्ध निर्माणको कामलाई तीव्रता दिन तत्कालै थप करिब ३० करोड आवश्यक रहेको उनले बताए ।
तटबन्ध निर्माणका लागि अर्थ मन्त्रालयले करिब ९९ करोडको सहमति दिए पनि पूर्व सिँचाइमन्त्री सञ्जय गौतमले तटबन्धका लागि छुट्याइएको करिब ४० करोड रुपैया बर्दियामा लगेपछि तटबन्धका लागि बजेट अभाव भएको उनको भनाइ छ । निर्वाचन, सरकार परिवर्तन लगायत कारण रकम भुक्तानी समेत ढिलाइ हुँदा समस्या भएको अम्मर मल्ल जेभीका प्रोपराइटर कर्ण मल्लले बताए ।


काम सम्पन्न भए पनि करिब ३ करोड भुक्तानी नपाएका कारण निर्माणको काम प्रभावित भएको छ । राप्ती नदीको कटान र डुबानको उच्च जोखिममा छ फत्तेपुरको खल्ला झगडिया । यहाँ चालु आर्थिक बर्ष २०७४/०७५ मा सुरु भएको करिब २ हजार २ सय मिटर लामो तटबन्ध निर्माणको काम २ प्रतिशत पनि पूरा भएको छैन । २० करोड ६९ लाखको लागतमा काम सुरु भए पनि समयमै बजेट नआएकाले कामले गति लिन सकेको छैन ।
सोही क्षेत्रको अर्को प्याकेज अन्तर्गत २६ करोड २७ लाखको लागतमा चालु आर्थिक वर्ष २०७४/०७५ मै सुरु भएको करिब २ हजार ८ सय मिटर लामो कामको प्रगति पनि करिब ३० प्रतिशत मात्रै भएको छ । गत आर्थिक वर्षदेखि सुरु भएको सोही क्षेत्रको करिब १६ करोड ५० लाख लागतमा सुरु भएको काममा पनि निर्माण व्यवसायीले समयमै भुक्तानी पाउन सकेका छैनन् । २ हजार ५ सय मिटर लामो तटबन्धको काम पनि करिब ६० प्रतिशत मात्रै पूरा भएको छ ।
बाँकेको होलिया क्षेत्रमा ३ वटा प्याकेज अन्तर्गत करिब ९ सय मिटर लामो तटबन्ध निर्माणको कामसमेत सुस्त छ । ८ करोड २६ लाखको लागतमा निर्माण सुरु भएको करिब ९ सय मिटर लामो तटबन्धको निर्माणको काम करिब ६० प्रतिशत मात्रै पूरा भएको छ । अहिलेकै गतिमा काम हुने हो भने बर्सात सुरु हुनुभन्दा पहिले नै तटबन्ध निर्माण सकिने सम्भावन देखिँदैन । ‘मन्त्री र नेताहरु बाढी र डुबानका बेला हेलिकोप्टरबाट डुबानग्रस्त क्षेत्रको भ्रमणमा आउँछन् र बजेटको कमी हुन नदिने आश्वासन दिन्छन्,’ फत्तेपुरका दुर्गा पाण्डे भन्छन्, ‘बाढी सकिएपछि तिनै नेताहरु फर्किएर पनि आउँदैनन् ।’
बजेट अभावमा खुद्रे योजना सञ्चालन हुँदा नदी किनारका बासिन्दाले बर्से्नि डुबानको समस्या खेप्नुपरेको उनी बताउँछन् । आर्थिक बर्ष २०७५/०७६ को अन्त्यसम्म काम सम्पन्न गर्नेगरी बहुवर्षीय ठेक्का अन्तर्गत तटबन्धनको काम भइरहेको हो । खल्ला राप्ती नदी किनारको बिनौनाको गौडदोई, फत्तेपुरको ढलैया र खल्ला झगडिया र होलियाको टेपरी क्षेत्र कटानको उच्च जोखिममा छन् । यहाँ १३ हजार ५० मिटर तटबन्ध निर्माणको काम भइरहेको छ ।
बाढी र डुबानका कारण १५ वर्षयता यहाँका हजारौं बासिन्दा विस्थापित भई जंगलमा झुपडी बनाइ बस्नुपरेको छ । हरेक वर्ष यो क्रम दोहोरिइरहने होलियाका राजकुमार शुक्लाले बताए । गत वर्षको बाढीबाट बाँकेमा ८ जनाको मृत्यु हुनुका साथै ९ हजार ४ सय ८२ परिवार डुबानको चपेटामा परेका थिए । करिब ४ हजार हेक्टरमा लगाइएको खेतीबालीमा क्षति पुगेको थियो । –नेपाल लाइभबाट

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार ०३:३२