सूचनाको शक्ति - The Power Of Information

        

पुरुषमा कसरी हुन्छ बाँझोपनको समस्या ?

शुक्रकीटको उत्पादन कम भएमा, वीर्यवाहिनी नलीमा ट्युमर वा यौनरोग संक्रमणका कारण बन्द भएमा सन्तान प्राप्तीमा असर पर्छ ।

हर्निया, हाइड्रोसिलको अप्रेसन गरेको अवस्थामा शुक्रवाहिनी नलीमा असर पुग्न सक्छ । शरीरको विकास क्रममा पुरुष हर्मोन विकास हुने बेलामा हर्मोन असन्तुलित हुँदा अण्डकोषको विकास हुँदैन ।

यस्तै आमाको पेटमा हुँदा अण्डकोष शरीरभित्र हुन्छ र जन्मिदा बाहिर आउँछ तर कसैकसैमा बाहिर नआई भित्रै बस्छ र कसैमा आधा भित्र र आधा बाहिर हुन्छ ।

यस्तो अवस्थामा पनि पुरुष सन्तान उत्पादनका लागि सक्षम हुँदैन । बालक जन्मिएपछि अण्डकोष परीक्षण गरी उपचार गरेमा भविष्यमा बाँझोपनको समस्या आउँदैन ।

अण्डकोषको राम्रो विकास नभएको, अप्रेसनका कारण शुक्रवाहिनी नलीमा असर परेको तथा शुक्रकीट कम उत्पादन भएको अवस्थामा पनि उपचार गरी बाँझोपनको समस्या हटाउन सकिन्छ ।

कहिलेकाहीँ भाइरस संक्रमणका कारण पनि अण्डकोष सुकेको हुन सक्छ । हाँडेरोग भाइरसका कारणले हुन्छ । यो रोग लागेको बेला भाइरस संक्रमण भई पेटको तल्लो भाग तथा अण्डकोष सुन्निने, दुख्ने हुन्छ र पछि अण्डकोष सुक्दै गई पहिलेको आकारभन्दा सानो हुन सक्छ ।

त्यसकारण हाँडेरोग भएको बेला अण्डकोष दुखेमा, सुन्निएमा तुरुन्तै डाक्टरलाई भेटिहाल्नुपर्छ । यस्तै शुक्रकीटहरु अण्डकोषबाट लिंगतर्फ भएर आउने नली विभिन्न कारणले टालिन सक्छ ।

कुनै पुरुषलाई टीबी भएमा टीबीका कीटाणुहरु संक्रमण भई शुक्रवाहिनी नली टालिन सक्छ । यस्तै सिफलिस, गनोरिया, एचआइभी–एड्स आदि यौनसंर्सगबाट सर्ने यौनजन्य रोगका कारण पनि सन्तान उत्पादनमा बाधा पुग्न सक्छ ।

एड्सबाहेक अन्य रोगको उपचार गरी सन्तान प्राप्त गर्न सकिन्छ । यौनजन्य रोगहरु पहिले नै लागेर निको भइसकेको भए पनि ती रोगका कीटाणुले शुक्रवाहिनी नलीको प्वाल साँघुरो पार्ने वा टाल्ने काम गरेको हुन सक्छ । उपचारपछि यस्ता प्वाल खोल्न सकिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १८:०९