आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा पुगेर एमालेले उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी दर्ता गराएको हो ।
संवैधानिक व्यवस्था अनुसार पाँच जनता प्रस्तावक र समर्थक राखेर एमालेले नेम्वाङको उम्मेवदारी दर्ता गराएको हो । नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् ।
समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेको संसद सचिवालयले जनाएको छ । शनिबार बिहान मात्रै पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
गत १० पुसको सम्झौता अनुसार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको एमाले नेताहरूले बताएका छन् । एमालेले राष्ट्रपति निर्वाचन अघि सरकार नछाड्ने निर्णय पनि गराएको छ । सचिवालय बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू उम्मेदवारी दर्ताका लागि नयाँ बानेश्वर पुगेका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं