सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसको निर्णय

अबको राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा रामचन्द्र पौडेललाई उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिवार बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले पौडेललाई राष्ट्रपतिको निर्णय गरेको हो ।

‘नेपाली कांग्रेस कार्यसम्पादन समितिले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा रामचन्द्र पौडेललाई उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ,’ कांग्रेस उपसभापति धनराज गुरुङले भने ।

राष्ट्रपतिमा आफ्नो नाम पनि चर्चामा आएको उल्लेख गर्दै कांग्रेस नेता कृष्ण सिटौलाले पौडेललाई आफ्नो साथ रहने बताए । ‘मेरो नाम पनि चर्चामा थियो । अहिले सर्वसम्मतले रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ । मेरो सहयोग रहन्छ । सम्पूर्ण पार्टीको सहयोग रहन्छ,’ बैठकपछि सिटौलाले भने ।

कार्यसम्पादन समितिको बैठकअघि सभापति शेरबहादुर देउवाले आफ्नो च्याम्बरमा राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम प्रस्ताव गरेका थिए । सो प्रस्ताव अनुमोदन कार्यसम्पादन समितिको बैठकबाट भएको हो ।

कांग्रेसको १४ औँ महाधिवेशनमा तटस्थ बसेर सभापति शेरबहादुर देउवालाई सहयोग गरेका पौडेलले संसदीय दलको चुनावमा पनि प्रस्तावक नै बसेका थिए । त्यतिबेलादेखि नै पौडेललाई राष्ट्रपति बनाउने देउवाले आश्‍वासन दिएका थिए ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारले सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने शुक्रबार साँझको बैठकले निर्णय गरिसकेको छ ।

पौडेल ८ दलीय गठबन्धनका तर्फबाट उमेदवार हुनेछन् । पौडेलले आजै दिउँसो २ बजेपछि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १०:३३