सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि बुटवल–तानसेन सडक दैनिक आठ घण्टा बन्द

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन खण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ । राजमार्ग अन्तर्गतको सिद्धबाबा क्षेत्रमा सुरुङमार्गका लागि डाइभर्सन बनाउन १५ दिन दिउँसो र राती केही समय सडक बन्द गरिने भएको हो ।

आजदेखि फागनु २७ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर काम गर्न लागीएको सुरुङमार्ग आयोजना प्रमुख होमबहादुर एसीले जानकारी दिए ।

‘डाइभर्सन निर्माण गर्दा माथिबाट ढुंगाहरू खसिरहेको हुँदा बाटो बन्द गरिएको हो,’ उनले भने । राजमार्ग बन्द हुँदा साना, हलुका र आकास्मिक सवारीसाधनका लागि बेलबासदेखि नुवाकोट हुँदै दोभानसम्मको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लागतमा ठेक्का पाएर पूर्व तयारीको काम सुरु गरिरहेको छ । सुरुङमार्गको डीपीआर तयार भएर पेस भएको छ । अहिले स्विस कम्पनीको सहयोगमा डीपीआरको चेक भइरहेको छ । डीपीआर परीक्षण गरी सरकारले स्वीकृत गरेपछि सुरुङमार्गको मुख्य निर्माण सुरु हुनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार ०९:३९