सूचनाको शक्ति - The Power Of Information

        

बन्यो आठ दलीय गठबन्धन

दुई महिनामै टुट्यो गठबन्धन, अब के गर्छ एमाले ?

अब एमाले वर्तमान सरकारबाट बाहिरिन सक्ने सम्भावना बढेको छ ।

गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा बनेको एमाले नेतृत्वको गठबन्धन टुटेको छ । राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहितका आठ दलको गठबन्धन बनेसँगै एमाले नेतृत्वको गठबन्धन दुई महिनामै टुटेको हो ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, लोसपा, एकीकृत समाजवादी, जनमत, उन्मुक्ति लगायतका पार्टीबीच राष्ट्रपतिमा कांग्रेसलाई मत दिने निर्णय भएसँगै नयाँ राजनीतिक कोर्षको सुरुवात भएको हो । आठ दलको बैठकमा सहमति जुटेपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक यात्रा सुरु भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले बैठकमा राखेको भनाइ उद्धृत गर्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले भने, ‘पुस १० को गठबन्धन टुटेको छ । अव नयाँ ढंगले अघि बढ्नुपर्छ, ‘नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔँ । राष्ट्रिय स्वाधीनता तथा जनतालाई सेवा–सुविधा दिने कुरामा एकताबद्ध भएर जाऊँ । सत्ता समीकरणमा पनि एकताबद्ध भएर जाऊँ ।’

मंसिरमा सम्पन्न आम निर्वाचनपछि पुस १० मा नेकपा एमालेको नेतृत्वमा सात दलीय गठबन्धनमार्फत प्रचण्ड प्रधानमन्त्री बनेका थिए । उक्त गठबन्धनमा एमाले,माओवादी केन्द्र, जसपा, जनमत, नागरिक उन्मुक्ति राप्रपा र रास्वपा सहभागी थिए ।

अब के गर्छ एमाले ?

भावी राष्ट्रपति नेपाली कांग्रेसको हुने भएको छ । शुक्रबार साँझ बालुवाटारमा बसेको पुरानो गठबन्धनको बैठकमा राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय भएको हो । जारी बैठकले उक्त निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए ।

उनका अनुसार चुनावअघि गठबन्धनका रहेका पाँच दलसहित जनमत पार्टी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादीले पनि राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने भएका छन् । उनले भने, ‘आज राष्ट्रपतिको मात्र कुरा भयो । बैठकमा सहभागी सबै दलले कांग्रेसको उम्मेदवारलाई सघाउन हामी ८ दल सहमत भयौं ।’

बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो । शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ । यससँगै हाल सत्ता गठबन्धनमा रहेको नेकपा एमाले राष्ट्रपति पद पाउनबाट व्यञ्चित भएको छ ।

यसअघि नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा कांग्रेसलगायतका दलले मत दिएपछि प्रधानमन्त्री राष्ट्रपतिमा राष्ट्रिय सहमित हुनुपर्ने अडान लिँदै आएका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिअनुसार राष्ट्रपति एमालेले नै पाउनु दावी गर्दै आएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमार्फत चुनावअघिको पुरानो गठबन्धन ब्युँताउने कसरतमा लागेपछि एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । शुक्रबार पनि एमालेका नेता पृथ्वीसुब्बा गुरुङले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाइएमा एमालेले समर्थन गर्ने बताएका थिए । तर, शुक्रबार नै एमालेका सचिव योगेश भट्टराईले भने राष्ट्रपति नपाएको खण्डमा सरकारबाट बाहिरिने बताएका थिए ।

उनले भनेका थिए, ‘पुस १० गतेको सहमतिअनुसार राष्ट्रपति एमालेकै हुन्छ । यदि एमालेले राष्ट्रपति पद नपाए सरकारबाट बाहिरिन्छ ।’ एमाले अध्यक्ष ओली पनि शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै भनेका थिए, ‘राष्ट्रपतिमा शंकै छैन । पुस १० गते नै राष्ट्रपतिबारे निश्चित भइसकेको छ ।’ अध्यक्ष ओलीको यस भनाइले भने अब एमाले वर्तमान सरकारबाट बाहिरिन सक्ने सम्भावना बढेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार ०७:५६