सूचनाको शक्ति - The Power Of Information

        

ब्युँतिँदै पुरानै गठबन्धन, समेटिँदै जनमत र लोसपा

बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा निर्वाचनअघिको पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको छ । राष्ट्रपति उम्मेदवार छान्न बसेको गठबन्धनको बैठकमा पाँच दलीय गठबन्धन ब्युँताउने सहमति बनेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सो जानकारी दिएका हुन् । करिब साढे ३ घण्टासम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको मूल विषय राष्ट्रपति निर्वाचन नै भएको उनले बताए ।

उनले भने, ‘अहिले हाम्रो ध्यान राष्ट्रपतिकै विषयमा हो । राष्ट्रपतिमै केन्द्रित भएर कुरा गर्दा अन्य विषयहरु पनि आउँछन्, अहिले केही विषय मिल्न बाँकी छ । आज हामी टुंग्याउँछौँ ।’ राष्ट्रपतिको उम्मेदवारमा कांग्रेससँगै अन्य दहहरुबाट पनि प्रस्ताव आएको थापाले जानकारी दिए ।

राष्ट्रपतिमा माधव नेपालको पनि प्रस्ताव अगाडि सारेर अफ्ठयारो परेको हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘कांग्रेसले राष्ट्रपतिमा अन्य दलको सहयोग चाहियो भनेको छ । अन्य दलहरुबाट पनि प्रस्ताव आएका छन्, फरक फरक प्रस्ताव आए पनि हामी एकै ठाउँमा पुग्छौँ भन्ने छौँ ।’

उनले दुईवटा नाममा भन्दा कांग्रेसले प्रस्ताव गरेको र अन्य दलबाट आएको प्रस्तावमा कुरा भइरहेको बताए । उनले भने, ‘दुईवटा नाममा भन्दा पनि कांग्रेसले सारेको प्रस्ताव र कांग्रेसबाहेकको प्रस्तावमा पनि छलफल हुँदैछ । अरुले उठाएको प्रस्तावमा पनि कुरा हुनेछ । हामीले अहिले एकअर्काको कुरा सुन्यौँ, हामी राष्ट्रपति निर्वाचनमा एकै ठाउँ उभिन्छौँ ।’

गठबन्धनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि समावेश गराउने भएको छ । आजको बैठकमा कांग्रेस, माओवादी, जसपा र नेकपा एसका नेताहरू सहभागी थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १४:४८