सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति निर्वाचनले गठबन्धनमा पहिरो

दुई महिनामै सत्ता गठबन्धन धरापमा, जुट्ने कि फुट्ने आज ‘फाइनल’

सातदलीय गठबन्धनको भविष्य माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको हातमा छ ।

आगामी राष्ट्रपति को बन्ने भन्ने विषयले सत्ता गठबन्धन धरापमा परेको छ । राष्ट्रपतिको विषयलाई लिएर गठबन्धनको मुख्य घटक दल एमाले र माओवादी केन्द्रबीच नै मतभेद भएपछि बनेको दुई महिनामै गठबन्धन धरापमा परेको हो ।

सातदलीय गठबन्धनको भविष्य अब दुई शीर्ष नेता माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको हातमा छ । उनीहरुले राष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन अघि आज निर्णायक वार्ता गर्दैछन् ।

राष्ट्रपति उम्मेदवारमा सहमति जुटाउन प्रचण्डले आज ओलीसँग निर्णायक वार्ता गर्ने भएका हुन् । २५ गते हुने निर्वाचनको लागि १३ गते मनोनयन दर्ताको मिति तोकिएको छ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको संवादपछि प्रचण्डले आज ओलीसँग संवाद गर्ने हिजै साँझ जानकारी दिएका थिए ।

आज ओलीसँगको भेटमा सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार तय गर्ने भन्ने बिषयमा छलफल हुने बताइएको छ । माओवादी महासचिव देव गुरुङले पनि नेताहरू सहमतिको आधार तय गर्न लागि परेको बताए ।

सरकार परिवर्तनका लागि गठबन्धनको स्वरुप परिवर्तन हुन सक्ने भएता पनि राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके नेपाल बिदेशीको क्रिडास्थल बन्दै दुर्घटनाको बाटोतर्फ जाने भनको भनाई छ । सहमतिको आधारमा राष्ट्रपतिका उम्मेदवार टुङ्गो लगाउन नेताहरु लागेका छन् ।

यता पूर्ववत् सहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने अडान राखिरहेको छ । तर, उम्मेदवार भने अझै निर्णय गरेको छैन । आज ओली र प्रचण्डबीचको वार्ता सकारात्मक भए गठबन्धनमा सहमति जुट्ने नभए गठबन्धन टुट्ने आशङ्का गरिएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्नुअघि प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेका छन् । आजै पुरानो पाँच दलीय गठबन्धनको बैठक पनि बस्दैछ । उनीहरुले मोर्चा बनाएर अघि बढ्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १३:१३