सूचनाको शक्ति - The Power Of Information

        

वैयक्तिक स्वतन्त्रता र हिँडडुलको अधिकार हनन्

विदेश भ्रमण प्रतिबन्ध फुकुवा मागसहित सन्दीप लामिछाने सर्वोच्चमा

सन्दीप लामिछाने युएई जाने नेपाली टोलीमा परेनन्, सन्दीपमाथिको विदेश भ्रमण प्रतिबन्ध फुकुवा होला ?

क्रिकेटर सन्दीप लामिछानेले विदेश जान पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । क्रिकेट खेल्न युएई जान पाउनुपर्ने मागसहित बिहीबार उनले सर्वोच्चमा निवेदन दिएका हुन् ।

आफ्ना कानुन व्यवसायी सरोजकृष्ण घिमिरेको साथमा सर्वोच्च पुगेका सन्दीपले निवेदनमा विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गरेका छन् । गत २८ पुसमा उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान प्रतिबन्ध लगाएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टीम यूएई भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । यदि सन्दीपमाथिको प्रतिवन्ध सर्वोच्चले कायम राख्यो भने उनी यूएई जान पाउने छैनन् । क्यानले सन्दीपको ठाउँमा मौसम ढकाललाई टीममा समावेश गरेको छ । उनको रिटमा शुक्रबार नै सुनुवाइ हुने सम्भावना छ ।

यदि सुनुवाइ भएर प्रतिबन्ध फुकुवा भए सन्दीप टोलीसँगै युएई जानेछन् । यसरी रोक लगाएर वैयक्तिक स्वतन्त्रता र हिँडडुलको अधिकार हनन् भएको सन्दीपका कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरेले बताएका छन् । नेपालले युएईमा पपुवान्युगिनी र युएईसँग २–२ खेल खेल्नेछ । आगामी सोमबार पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने तालिका छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले पनि शुक्रबार सर्वोच्चले उच्च अदालतको फैसला उल्टाएर प्रतिवन्ध हटाएको खण्डमा टीममा समावेश गर्न सकिने बताएका छन् । सन्दीप नेपाली राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य र प्रमुख बलर हुन् । उनको उत्कृष्ट प्रदर्शनको बलमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक श्रृंखला क्लीन स्वीप गरेको थियो ।

युएई जाने नेपाली टोलीमा परेनन् सन्दीप

आइसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्य टोली घोषणा गर्दा सन्दीप नेपालको टोलीमा छैनन् । नेपाली टोलीमा मौसम ढकाल र प्रतिश जिसी टोलीमा परेका छन् । कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपको समावेश नगरेको हो ।

नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ । नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्धा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने उनलाई टिममा राखेको थियो ।

उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो । नेपालको टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, श्याम ढकाल (मौसम), गुलशन झा, आरिफ शेख र प्रतिश जिसी छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १८:०६