प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको अवस्थाप्रति चिन्ता जाहेर गर्दै नेपालको निरन्तर अधोगतिप्रति अब मौन रहन नसक्ने चेतावनी दिएपछि नेपाली राजनीति तरंगित बनेको छ । देशमा शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेकोमा ज्ञानेन्द्रको चिन्ता छ । आफूले यसअघि नेपाली जनताको निर्णय स्वीकारेको भन्दै जनताभन्दा माथि कोही नहुने टिप्पणी पनि ज्ञानेन्द्रले गरेका छन् । देश जोगाउन राजनीतिक दलहरू र राजसंस्थाबीच सहकार्यको प्रस्ताव पनि उनले गरेका छन् ।
शान्तिपूर्ण रुपमा राजगद्धी छाडेर नागरिकको जीवन बिताइरहेका ज्ञानेन्द्रले एक नागरिकको हैसियतले देश र जनताको अवस्थाप्रति चिन्ता व्यक्त गर्नु स्वाभाविक हो । ज्ञानेन्द्रले यसरी टिप्पणी गर्ने वातावरण कसले, कसरी बनायो भन्ने कुरा फर्केर हेर्नुपर्ने हुन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको कम्युनिष्ट सरकार र पार्टी विभाजित नगरेको भए अहिले ज्ञानेन्द्रले यसरी प्रश्न उठाउने ठाउँ नै पाउने थिएनन् । दुई तिहाईको सरकारलाई कम्युनिष्ट पार्टीको घोषणापत्र कार्यान्वयन गर्ने ऐतिहासिक अवसर प्राप्त थियो ।
तर, ओली विदेशी शक्ति, दलाल पुँजीपति र विचौलियाको फन्दामा पर्दा देश र जनताले विरलै प्राप्त गर्ने ऐतिहासिक अवसर थुम्न पुग्यो । ओलीले असंवैधानिक रुपमा संसद विघटन र तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँगको सेटिङको आधारमा दुईतिहाइ हाराहारीको कम्युनिष्ट पार्टी विभाजित गराएपछि जनतामा चरम निराशा छायो । कम्युनिष्ट पार्टीप्रति अपार जनसमर्थन ओलीकै कारण टुट्न पुगेको छ । महंगी, भ्रष्टाचार, विकृति, विसंगति बढेको छ । विधिको शासन कमजोर भएको छ ।
पहुँचविहीन नागरिकले निरीह महसुस गरिरहेका छन् । देशभित्रै केही गरौं भनेर वातावरण छैन । सीमित विचौलिया र दलालहरूले राज्यबाट फाइदा उठाइरहेका छन् । गरिखान खोज्नेहरूलाई राज्यले सुविधा होइन, सकस दिइरहेको छ । संविधानमा समाजवाद उन्मुख राज्यव्यवस्था बनाउने संकल्प गरिएको छ । तर, नेपाली राज्य व्यवस्था दलाल पुँजीवादी छ । जसले सत्ता र शक्तिलाई मात्रै होइन, श्रम, बजार, व्यापार र नाफाको अर्थ राजनीतिलाई तरंगित बनाइरहेको छ । यो अवस्थालाई अन्त्य गरेर देशलाई स्थिरता, विकास र समृद्धिको मार्गमा अगाडि बढाएको भए आज पूर्वराजा ज्ञानेन्द्रले प्रश्न उठाउने ठाउँ पाउने थिएनन् ।
उनले नयाँ कुरा केही पनि उठाएका छैनन् । जनताले जे भोगिरहेका छन्, तिनै विषयलाई उनले लिपीवद्ध मात्रै गरेका हुन् । प्रतिगामी राप्रपाहरूसँग मिलेर निर्वाचन लडेका ओलीले अहिले पूर्वराजालाई व्यांग्य गरेका छन् । ज्ञानेन्द्र आफैँ अलमलमा रहेको ओलीको टिप्पणी छ । ‘ज्ञानेन्द्रजी आफैँ अलमलमा हुनुहुन्छ उहाँमा अझै पुरानो झल्को आइरहन्छ, दुई–चार जना मान्छे वरिपरि देख्यो भने त्यो पुरानो झल्कोले अलिअलि उक्साउँछ, त्यति मात्र हो,’ ओलीले भनेका छन्, ‘कोसँग सहकार्य गर्ने ? ज्ञानेन्द्रजी आफैँ ‘पोल्टिक्स’मा हिँडिरहनु भएकै छ, अस्ति मेचीमा गएर दियो बाल्नुभयो, भएकै छ त ।’
जबकि, गतसाता एमालेकै केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पूर्वराजालाई साक्षी राखेर मेची महाकाली अभियान सुरु गरेका थिए । ओली आफैँ प्रतिगामी कित्तामा पुगेका छन् । गणतान्त्रिक आन्दोलनमा पनि ओलीको खासै योगदान दिएन । आन्दोलनताका उनले ‘बयलगाढा चढेर अमेरिका पुगिदैन’ भन्दै गणतान्त्रिक आन्दोलन सफल नहुने अभिव्यक्ति दिएकै हुन् । ओली देश र जनताको समस्या समाधान गर्न होइन, देशभित्र मौलाएका विकृति र विसंगतिभित्र खेल्न चाहन्छन् । उनी अहिले सरकार सञ्चालन गर्ने संयन्त्रका प्रमुख छन् । जनताका मुद्धा सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जनतालाई थप निराश बनाउने बाटोमा छन् । यसतर्फ गणतन्त्र र स्थिरता पक्षधर शक्ति एकजुट भएर आगाडि बढ्नुपर्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं