सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

तलतल

सबै ठाउँमा खायो । घरेलु, मिसावट, जडिबुटीदेखि ब्राण्डेडसम्म खायो ।

जड्याहालाई
जाँडको तलतलले
पार्टीमा पुर्यायो ।
उसले पार्टीमा मज्जाले धोक्यो
फिट्टान हुने गरी धोक्यो
सित्तैमा पाएको मादक पदार्थ
उसले आँखा चिम्लिएर पियो ।
नेपालीले सित्तैमा पाए
अलकत्र छोडदैनन् भन्दछन्
उसले जाँड छोडेन
मज्जाले धोक्यो
पार्टीबाट फर्किंदा
बाटोमा देवताहरु आए
सायद उनीहरूलाई पनि तलतल लागेको थियो ।
यत्तिकैमा वेदले उसलाई बोल्यो
‘तैंले सोमरस पिएको देखेर आए ।’
तलतल लागेर आएका देवताले
जड्याहाका गफ सुनेर आफ्नो प्यास मेटाए ।
कालान्तरमा
उक्त जड्याहाले मादक पदार्थ पिउन छोडयो
अनि एक दिन जब उ आफ्नो अतितलाई सम्झी
हाँसीरहेको थियो
उभित्रको ईश्वर बोल्यो
सोमरस र मदिरा पर्यायवाची शब्द बनाइए
तर अर्थ एउटै भने होइनन् ।
उसले मतलब गरेन, बाल दिएन
त्यस्तो उच्च कोटिको बाणीलाई
किनकि अब उ जड्याहा थिएन
अनि उसँग जाँडको तलतल पनि थिएन ।
कुनै समय
उ जाँडको शौखिन थियो
भट्टी अनुसारले खायो
राष्ट्रियताको भाव बोकेर खायो
हिमाल, पहाडदेखि तराई
सबै ठाउँमा खायो
घरेलु, मिसावट, जडिबुटीदेखि ब्राण्डेडसम्म खायो
पानी मिसाएर खायो
पानी नमिसाई पनि खायो
चुस्कीको शैलीमा खायो
घुटुघुटु पनि खायो
एउटा मात्र पार्टी होइन
उसले धेरै पार्टी र भोजमा खायो
त्यसैले उसलाई जाँडको लत मात्र बसेन
नखाँदा तलतल नै लाग्यो
जसको उपचार
उ आँफैले गर्यो
जाँड छोडेर
उ त एक पात्र मात्र हो
नेपाली समाजको
जहाँ सोमरसको नाममा मदिरा खान
धर्म खोजिन्छ
ब्राह्मणलाई सुरक्षित रूपमा जाँड खान दिन
त्यसैले उसले पहिले खुलेआम खायो
कसैलाई बाल नदिई खायो
र अहिले छाड्यो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार ०७:०२