सूचनाको शक्ति - The Power Of Information

        

बढ्यो ट्राफिकको जरिवाना

ट्राफिक नियम उल्लंघन गरे अबदेखि पाँच हजार जरिवाना !

ट्राफिक नियम उल्लंघनको कुन कसुरमा कति जरिवाना ?

फाइल तस्वीर

ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना बढाएको छ । अबदेखि ट्राफिक नियम उल्लंघन गरेमा न्यूनतम ५०० रुपैयाँदेखि अधिकतम् ५००० हजार रुपैयाँ जरिवाना लाग्नेछ । ट्राफिक नियमका विभिन्न ४१ शीर्षकमा जरिवाना बढाएको छ ।

यसअघि यी विभिन्न शीर्षकमा ५०० देखि १५०० रूपैयाँसम्म जरिवाना लाग्दै आएको थियो । तर अब यी शीर्षकमा न्यूनतम ५०० देखि अधिकतम ५००० रूपैयाँ जरिवाना हुनेछ । उक्त जरिवाना गर्ने निर्णय कार्यान्वयनमा आइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।

उनले भने, ‘पहिले न्यूनतम ५०० देखि अधिकतम १५०० रूपैयाँसम्म जरिवाना हुने कसूर अन्तर्गतमा रहेका शीर्षकमा अब न्यूनतम ५०० देखि अधिकतम ५००० रूपैयाँ जरिवाना हुनेछ र यो लागू भइसकेको छ ।’ यसरी जरिवाना बढाइसकेपछि ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएर दुर्घटनामा समेत कमी आउने उनको दावी छ ।

‘जरिवाना र कारबाही गर्दा पनि नियम उल्लंघन गर्ने गरेको पाइयो,’ उनले भने, ‘५०० रूपैयाँ त हो नि भनेर पटकपटक तिर्नेहरू पनि देखिए । अनि उल्लंघन गरिरहने प्रवृत्तिलाई यो निर्णयले न्यूनीकरण गर्नेछ । जरिवाना बढाउँदा नियम पालना गर्लान् र दुर्घटना घट्छ कि भनेर हो । ‘एक–दुई महिनामा यसबारे केही परिणाम आउँछ ।’

कुन कसुरमा कति जरिवाना ?

१. न्यूनतम १००० देखि ५००० रुपैयाँसम्म जरिवाना हुने कसूरहरू

  • निर्धारित भाडाभन्दा बढी भाडा लिई सवारी चलाएमा ।
  • सवारी दर्ता नगरी सवारी चलाएमा ।
  • बाटो इजाजत नलिई सावर्जनीक सवारीले यातायात सेवा सञ्चालन गरेमा ।
  • दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुरयाएको वा सम्पर्कमा नआएमा ।
  • सवारी आवागमनमा बाधा पुर्याएमा ।
  • विदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएमा ।
  • यातायात सेवालाई पंजिकृत नगरेमा ।
  • सामान्य स्वरुप परिवर्नत गरी कालो स्टीकर लगाएमा ।

२. न्यूनतम १००० देखि २००० रुपैयाँसम्म जरिवाना हुने कसूरहरू

  • सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएमा ।
  • सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा ।
  • नम्बर प्लेट नराखेर सवारी चलाएमा ।
  • सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा ।
  • सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा ।
  • सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा ।
  • मादक पदार्थ सेवन गरी सवारी चलाएमा ।
  • सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा सो हदभन्दा बढी राखी सवारी चलाएमा ।
  • प्रयोजन विपरित सवारी साधन सञ्चालन गरेमा ।
  • निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा ।
  • अरु मानिसहरुलाई खतरा हुने गरी सवारी राखेमा ।
  • सवारी चलाउँदा छतमा यात्रु बोकेमा वा राखेमा ।

३. न्यूनतम ५०० देखि १५०० रुपैयाँसम्म जरिवाना हुने कसूरहरू

  • ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा ।
  • ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा ।
  • सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि संकेत गरेमा ।
  • सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा सवारी अड्याएमा वा रोकेर राखेमा ।
  • सडकमा गलत साइड तर्फबाट सवारी चलाएमा ।
  • एकतर्फी सडकमा सो विपरीत सवारी चलाएमा ।
  • अवस्था ठिक नभएको सवारी चलाएमा ।
  • राति बत्ती नबाली सवारी चलाएमा ।
  • सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा ।
  • सिटबेल्ट नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा ।
  • लाइसेन्स, ब्लुबुक, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा ।
  • सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा ।
  • लाहपर्वाहीका साथ गाडी चलाएमा, लेन अनुशासन कायम नगरेमा र मोवाइल फोन प्रयोग गरेमा ।
  • सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब, सडक इजाजत पत्र साथमा नराखी सवारी चलाएमा ।
  • तोकिएको भन्दा बढी मालसामान वा यात्री राखेर सवारी साधन सञ्चालन गरेमा ।

४. न्यूनतम ५०० देखि १००० रुपैयाँसम्म जरिवाना हुने कसूरहरू

  • पटके बाटो इजाजत नलिई सवारी चलाएमा ।
  • निषेध गरिएको स्थानमा सवारी साधन पार्किङ्ग गरेमा ।
  • सवारी चालकले जुत्ता नलगाएर सवारी चलाएमा ।
  • आरक्षण सिटमा सम्बन्धीत मान्छे नराखेमा ।
  • सवारीमा सांकेतिक चिह्न नराखेमा ।
  • नम्बर प्लेट नराखी सवारी चलाएमा ।
  • लापरवाहीका साथ सवारी चलाएमा ।
  • हर्न बजाउन निषेध गरिएको ठाउँमा हर्न बजाएमा ।
  • निर्धारित भाडादर भन्दा बढी भाडा लिई सवारी चलाएमा ।
  • दर्ता नगरी सवारी चलाएमा ।
  • सार्वजनिक सवारीमा धूमपान गरेमा ।
  • सार्वजनिक सवारी साधनको अगाडी पछाडी रिफ्लेक्टिभ (टल्किने) स्टिकर नराखेमा ।
  • लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक राखेर पालैपालोसँग सवारी नचलाएमा ।
  • गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गतिभन्दा बढी वेगले सवारी चलाएमा ।
  • तोकिएको ढाँचा अनुसारको टिकट जारी नगरेमा ।
  • सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले तोकिए बमोजिमको पोशाक प्रयोग नगरेमा ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १७:५५