सूचनाको शक्ति - The Power Of Information

        

सरकारी नियुक्तिमा बेतिथि

अनियमिततामा मुछिएका डाक्टरलाई वीरको जिम्मा, ‘दुधको साक्षी विरालो’

व्यापक अनियमिततामा मुछिएका डा.सन्तोष पौडेल वीर अस्पतालमा पुगेपछि पनि टेन्डरमा सेटिङ्ग सुरु भइसकेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक हुँदा व्यापक अनियमिततामा मुछिएका डा.सन्तोष पौडेल वीर अस्पतालको निर्देशकमा नियुक्त भएका छन् । उनको नेतृत्वमा ट्रममा अनियमितता भएको निष्कर्षसहित राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरी संलग्नहरुमाथि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो ।

सतर्कताको प्रतिवेदनमा अनियमितताका प्रमाणसहितका तथ्यहरु भेटिएपछि अख्तियारले ट्रमाका पूर्व निर्देशक डा.पौडेलमाथि प्रारम्भिक छानबिन गरिरहेको छ । सतर्कता केन्द्रले ट्रमा सेन्टरमा उपकरण खरिददेखि एम्बुलेन्स खरिदमा भएको अनियमितता अख्तियारबाटै छानबिन हुनुपर्ने निष्कर्षसहित कारबाही सिफारिस गरेको थियो ।

उनै पौडेल गत शुक्रबार वीरमा नियुक्त भएपछि धेरैले आश्चर्य मानेका छन् । उनको नियुक्ति ‘दुधको साक्षी विरालो’ भनेझैं भएको वीर अस्पतालकै कर्मचारीहरु बताउँछन् । डा.पौडेलले एमएस अर्थोपेडिक अध्ययन गर्ने क्रममा तत्कालीन उपकुलपतिसँग मिली सेवा अवधि नपुगिकनै अध्ययन गरेको बिषयमा सतर्कता केन्द्रले छानबिन गरेको थियो ।

उनले ट्रमा सेन्टरको निर्देशक रहँदा कर्मचारी नियुक्तिमा आर्थिक लेनदेन गरी नियुक्ति गरेको, सी आर्म खरिद, डेक्सा मेसिन, एच डी माइक्रोस्कोप, एम्बुलेन्स तथा क्यान्टिन टेण्डर गर्दा करोडौँ रुपैयाँ अनियमितता गरेको भन्दै २०७७–११–०२ मा प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत उजुरी परेको थियो ।

पौडेलबिरुद्ध उजुरी परेपछि २०७७–११–१३ मा स्वास्थ्य मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति पनि गठन गरेको थियो । सो समितिले उल्लेखित विषयहरुमा अनियमितता देखिएको भन्दै माथिल्लो निकायबाट छानविन हुनुपर्ने राय दिएको थियो । सो पत्र अख्तियारमा समेत पठाएको थियो ।

तर हालसम्म उनी विरुद्ध कुनै कारबाही नभएपछि राष्ट्रसेवक कर्मचारीहरुले यही पुस २४ गते पुनः प्रधानमन्त्री कार्यालय, अख्तियार, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्यमन्त्री र सम्पत्ति शुद्धिकरण विभागमा छानविन तथा कारबाहीको लागि निवेदन पेश गरेका छन् ।

तत्कालीन निर्देशक डा.पौडेलले अर्थोपेडिक सर्जरी इन्टुमेन्ट एरिना इन्टरनेशनललाई, स्पाइन सर्जरी इस्टुमेन्ट, एरिना इन्टरनेशनल, हेड एण्ड माइक्रोसर्जरी इस्टुमेन्ट, बायोमेड इन्टरनेशनलाई एनेस्थेसिया मेसिन, म्याक्सिम इन को अपरेसन, सिआर्म मेसिन म्याक्स मेडिटेक सिस्टमलाई, हाई एण्ड अप्रेटिङ्ग माइक्रोस्कोप इष्ट वेस्ट कन्सर्नलाई, डक्सा मेसिन सन्जिवनी इन्टरपाइजेजलाई, ओटी लाइट म्याक्सिम इन कोअपरेशनलाई, पोर्टवल भिडियो एक्सरे म्याक्स मेडिटेकलाई २०७७–०८–१३ मा सम्झौता गरी खरिद गरेका थिए ।

सो सामान खरिद गर्दा आवश्यकता पहिचान, स्पेसिफिकेसन, अनुमानित लागत, टेण्डर स्वीकृत, बोलपत्र मुल्याङ्गन, समिति गठन गर्दा सबैमा आफू निटक संयोजक र सदस्य राखी नियमविपरीत टेण्डर स्वीकृत गरी करोडौ अनियमितता गरेका थिए । २०७७–०२–२८ गते प्रकाशित ‘क’ वर्गको एम्बुलेन्स खरिदमा समेत पूर्वनिर्देशक पौडेलले ‘क’ वर्गको एम्बुलेन्स खरिद नगरी ठूलो अनियमितता गरेका थिए ।

फोटोन टर्नल्याण्ड एम्बुलेन्स, इन्जिन नम्बर ७६०३०४०७ र च्यासिस नम्बर एलभिएभिटुके विवि ४ एलसि ०६०५१४ नम्बरको उल्लेखित एम्बुलेन्स मेउ भिर्दि कमरसियल भेहिकल प्रालिलाई ८९९५००० मा खरिद नगरी आयात गरेका थिए । एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ विपरीत स्पेसिफिकेसन नमिलीकन खरिद गरिएको थियो ।

त्यस्तै २०७७–०४–०३ मा ट्रमा सेन्टरको क्यान्टिन कफिसप भन्दै सूचना प्रकाशित गरेको तर सम्झौता गर्दा सुनिल क्यान्टिन तथा कपडा खुद्रा पसल थापाथली काठमाडौंलाई पूरै क्यान्टिन सञ्चालन गर्ने गरी सम्झौता गरी अनियमितता गरेको पाइएको छ । डा.पौडेल वीरमा पुगेपछि पनि टेन्डरमा सेटिङ सुरु भइसकेको छ ।

उता ट्रमाका हालका निर्देशक डा.रुद्र मरासिनीमाथि पनि आयोगले छानबिन गरिरहेको छ । यूनाइटेड इमेजिङ कम्पनीसँग मिलेर एमआरई मेसिन खरिद गर्न लागेपछि छानबिन सुरु भएको हो । करिब चार करोड कसिमनको चक्करमा मेसिन खरिद गर्न लागिएको छ । लक्ड स्पेशिफिकेसन बनाएर अनियमितता हुन लागेको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १३:११