सूचनाको शक्ति - The Power Of Information

        

जनविद्रोहको नेतृत्व गर्दै ‘मार्सी’

मेडिकल माफियाको रुपमा परिचित दुर्गा प्रसाईं उर्फ ‘मार्सी’ले जनविद्रोहको नेतृत्व गर्ने बताएका छन् । उनले काठमाडौंको पेरिसडाँडास्थित राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियान नेपालको कार्यालयमा गरिएको छलफलमा उक्त धारणा राखेको बताइन्छ ।

महाभियानका संयोजक रहेका प्रसाईंले आज जनविद्रोह गर्ने भन्दै झण्डै एक दर्जनसँग कुराकानी गरेका हुन् । विभिन्न जिल्लाबाट आएका महाभियानका प्रतिनिधिहरुसँग भएको छलफल सकारात्मक रहेको जानकारी दिइएको छ । प्रसाईंले हिजो नेकपा एमाले परित्यागको घोषणा गरेका थिए ।

राजा फर्काउने अभियानमा लागेसँगै एमालेले कारवाही प्रक्रिया थालेपछि उनले त्यसअगावै पार्टी छाडेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका अति विश्वासपात्र प्रसाईंले गत साता पूर्वराजा र राजपरिवारका सदस्यहरुलाई झापाको काकडभिट्टा पुर्याएर राजतन्त्र फर्काउने महाअभियानको घोषणा गरेका थिए ।

त्यसपछि उनलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले सिफारिस गरेको हो । तर, पार्टीले कारबाहीको निर्णय नगर्दै हिजोदेखि आफैँ बाहिरिएका छन् । अध्यक्ष ओलीलाई खुशी तुल्याएकाले विगतमा एमाले प्रवेश गरेलगत्तै केन्द्रीय सदस्य बनेका प्रसाईं गत निर्वाचनमा टिकटको दाबेदार थिए । एमालेका अधिकांश कार्यकर्ताले अध्यक्ष ओलीलाई ‘बा’ सम्बोधन गर्दा उनले भने ‘हजुरबा’ भन्ने गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १६:०७