सूचनाको शक्ति - The Power Of Information

        

बादलमा हराएको थियो मकालु एयरको विमान, सिडियोलाई भेडीगोठालाहरुले दिए दुर्घटनाको खबर


बाँके । हुम्लाको खार्पुनाथमा आज विहान भएको मकालु एयरको विमान दुर्घटनाअघि बादलमा हराएको बुझिएको छ । दुर्घटनाअघि पाइलट आदित्य नेपालीले विमान बादलमा हराएको जानकारी गराएका थिए । सुर्खेतबाट उडेको उक्त मकालु एयरको कार्गो विमान खराब मौसमका कारण बिहान दुर्घटना भएको हो ।
दुर्घटनास्थल खार्पुनाथ सिमीकोट विमानस्थलबाट ७.७ नटिकल माइल दक्षिणपूर्व पर्छ । बिहान ६स्१२ बजे उडेको विमानको नेपालगन्ज टावरसँग ६ः२७ बजे अन्तिम सम्पर्क भएको नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
मृत्यु हुने पाइलट आदित्य नेपाली मकालु एयरका सञ्चालक फिजुनाथ नेपालीका छोरा भएको खुलेको छ । दुर्घटनामा क्याप्टेन किरण भट्टराई र नेपालीको मृत्यु भएको थियो । आदित्य फिजुका एक मात्र छोरा हुन् । गृह मन्त्रालयका अनुसार दुवै पाइलटको शव सिमीकोट विमानस्थलमा लगिएको छ ।
बिहानैदेखि सम्पर्कविहीन भएको विमान खोजीका लागि हेलिकोप्टर परिचालन गरिए पनि विमान दुर्घटनाको खबर सुरुमा भेडीगोठालाहरुले थाहा पाएका थिए । विमान दुर्घटना भएको खार्पुनाथको एक्लाभुजाचौरमा रहेका लामा रावलले आफूहरुले विमान खसेको देखेपछि सिडियो कार्यालयमा खबर गरेको जानकारी दिएको बताए । खबर आएपछि हेलिकोप्टरबाट प्रहरी र उद्धारकर्मीलाई घटनास्थलमा पुर्याइएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार ०८:२८