सूचनाको शक्ति - The Power Of Information

        

जोखिममा शहर

बाँकेका घरघरमा म्याद सकिएका ‘ग्यास सिलिण्डर’, कसले गर्ला कारबाही ?

बाँकेका दुई उद्योगमा ६ हजारभन्दा बढी ग्यास सिलिण्डर म्याद सकिएका, लिकेज भएका, बिग्रेका र कुच्चिएका भेटिएका छन् ।

ग्यास उद्योगमा अनुगमन गर्दै बजार अनुगमन समितिको टोली ।

बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर, खजुरा र राँझा लगायतका क्षेत्रका छ हजारभन्दा बढी परिवार ग्यास सिलिण्डर विस्फोटनको उच्च जोखिममा रहेको बताइएको छ । ठूलो सङ्ख्यामा म्याद सकिएका, लिकेज भएका, बिग्रेका र कुच्चिएका सिलिण्डर दुई कम्पनीले बजारमा पठाएपछि छ हजारभन्दा बढी परिवार विस्फोटनको उच्च जोखिममा परेका हुन् ।

काठमाडौँ र दाङमा सिलिण्डर विस्फोटनका घटनाहरु भएपछि बाँकेका दुई उद्योगमा गरिएको अनुगमनमा छ हजारभन्दा बढी ग्यास सिलिण्डर म्याद सकिएका, लिकेज भएका, बिग्रेका र कुच्चिएका भेटिएका छन् । उद्योगमा मात्रै यति ठूलो सङ्ख्यामा अत्यधिक जोखिमपूर्ण सिलिण्डर फेला परेपछि उपभोक्ताको घर, होटल र पसलमा भएका २० हजार बढी सिलिण्डरमध्ये अधिकांशको अवस्था पनि त्यस्तै होला भन्ने अनुमान छ ।

जिल्लाको मनकामना ग्यास उद्योग र भेरी ग्यास उद्योगमा अनुगमन गर्दा छ हजार बढी अत्यधिक जोखिमपूर्ण अवस्थाका सिलिण्डर भेटिएकाले जुनसुकै बेला जेसुकै हुनसक्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सूचना अधिकृत देवीलाल चौलागाईंले बताए । उनले प्रयोगमा ल्याउन नमिल्ने सिलिण्डर यति धेरै भेटिएकाले बाँके जिल्ला नै जोखिममा रहेको बताए ।

भेरी ग्यास उद्योगमा करिब तीन हजार ग्यास सिलिन्डरहरु लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब दुई हजार ५०० वटा ग्यास सिलिन्डर र म्याद सकिन लागेका २०० ग्यास सिलिन्डर भेटिएको चौलागाईंले जानकारी दिए । मनकामना ग्यास उद्योगमा म्याद समाप्त भएका १६० ग्यास सिलिन्डर, लिकेज, बिग्रेका, कुच्चिएका, जोखिमयुक्त ५० र तत्काल म्याद सकिन लागेका करिब ५० वटा ग्यास सिलिन्डर भेटिएका छन् ।

मनकामना ग्यास उद्योगमा लिकेज जाँच गर्ने मेसिनको प्रयोग नै नगरी ग्यास सिलिण्डर बजारमा पठाउने गरेको समेत पाइएकाले निकै गम्भीर अवस्था रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकृत चौलागाईंको भनाइ छ । उद्योगमा र बजारमा रहेका सबै सिलिण्डरको राम्ररी अनुगमन गरी एउटा पनि जोखिमपूर्ण सिलिण्डर बजारमा जान नदिन तत्काल सम्बन्धित निकायले ध्यान दिनुपर्ने नागरिकहरु बताउँछन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार ०७:३०