सूचनाको शक्ति - The Power Of Information

        

जुम्लाकी एक्ली अटो चालक कल्पना, कमाई कति ?

जुम्ला बजारमा अटो रिक्सा चलाउने पहिलो महिला हुन् कल्पना बुढा । उनले अटो चलाउन थालेपछि अरू महिला पनि यो काममा जोडिने थालेका छन् । अटो चलाउन थालेपछि कल्पनाको दैनिकी फेरिएको छ ।

बिहानको घरधन्दा छिटो सकेर हतारहतार अटो लिएर बजारमा निस्किनु उनको पछिल्लो दैनिकी बनेको छ । उनी जुम्लाको बजारमा अटो रिक्सा चलाउने पहिलो महिला हुन् । २९ वर्षकी कल्पना परम्परागत सोचाइको अन्त्य गर्दै उनले अटो चलाएर नै जीविकोपार्जन गरिरहेकी छन् ।

जिल्लाको पहिलो महिला अटो चालक कल्पना बुढा लामो समयदेखि अटो चलाउने काम गर्छिन् । महिलाहरूले चालकको काम गर्न हुँदैन भन्ने परम्परागत सोचाइलाई तोड्न तथा आर्थिक रूपमा सबल बन्नका लागि अटो चलाउन थालेको उनले बताइन् ।

सुरु–सुरुमा त अटो चलाउँदा हेर्ने मान्छेहरूको लाइन हुन्थ्यो । महिलाले अटो चलाएको भन्दै अचम्ति हुनेहरू बाक्लै थिए । पहिले महिलाको अटोमा चढ्न आनाकानी गर्थे, उनले भनिन् लडाइदिने पो हो कि भनेर पुरुषकै अटोमा जान्थे ।

तर, अहिले तिनै मानिसहरू पुरुषले भन्दा त झन् सुरक्षित तवरले बिस्तारै चलाउँदा रहेछन् भन्न थालेका छन् । अटो चलाउन थालेपछि घर व्यवहार चलाउन र छोराछोरी पढाउन सहज भएको बुढाले सुनाइन् । हिजोआज उनले अटोबाट दिनमा एक हजारदेखि १५ सयसम्म कमाउँछिन् ।

यही कमाइले उनले छोरालाई निजी विद्यालयमा पढाएकी छिन् । अटोकै कमाइले कल्पनालाई खानबस्नको दुःखले घेर्न छाडेको छ । उनी बेलाबेला आफूलाई मन लागेको कुरामा पैसा खर्चिन सक्ने भएकी छन् ।

अटो किन्दाको सबै किस्ता चुक्ता गरिसकेकी छन् । उनीसँग अटो चलाउने लाइसेन्स पनि हातमा छ, नेपालगन्ज पुगेर झन्डै ६ लाख पर्ने अटो किस्ताबन्दीमा किनेको बताइन् । नगरपालिकाभित्र चलाउने रुट परमिट लिएकी छिन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार १२:१९