सूचनाको शक्ति - The Power Of Information

        

तातोपानी गाउँपालिका वडाध्यक्ष विशालले गरे बहुविवाह

वडामा कसैले बहुविवाह गरे दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने वडाध्यक्षले नै बहुविवाह गरेका हुन् । जिल्लाको तातोपानी गाउँपालिका वडा नं.६ का वडाध्यक्ष विशाल खड्काले बहुविवाह गरेका हुन् । बहुविवाह गरेमा वडामा दर्ता समेत हुँदैन । बहुविवाह गरेमा स्वतः रद्द हुने कानुनी व्यवस्था समेत छ ।

खड्काले घरमा पत्नी र छोराछोरी हुँदाहुँदै दोस्रो बिहे गरेका हुन् । उनीकी जेठी श्रीमती कमला खड्काबाट १३ वर्षका एक छोरा र ५ महिनाकी छोरी छन् । उनका अनुसार वडाध्यक्ष खड्काले जनयुद्धमा उनीभन्दा पहिला एक श्रीमती बिहे गरेका थिए । पहिलेकी श्रीमतीबाट १७ वर्षीय छोरासमेत रहेको बुझिएको छ ।

त्यस्तै कास्की जिल्लाको मादी गाउँपालिका–८ माइती भएकी ३३ वर्षीया वडाध्यक्ष खड्काकी श्रीमती कमला खड्काले भनिन्, ‘तातोपानी–६ कै अम्बिका न्यौपानेबाट छोरा जन्माएर न्वारन समेत गरेको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल छ ।’ खड्का माओवादी केन्द्रबाट टिकट लिएर वडाध्यक्ष निर्वाचित भएका हुन् ।

उनी २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि सोही वडाका वडाध्यक्षमा निर्वाचित भएका थिए । उनकी श्रीमती कमलाले भन्छिन्, ‘उनको त्यो युवतीसँग सम्बन्ध छ भन्ने हल्ला तीन वर्षअघि सुनेकी थिएँ । उनले त्यो हल्ला झूटो भएको बताउँदै आएका थिए । अहिले त्यो अम्बिका न्यौपानेबाट छोरा जन्माएर न्वारन समेत गरेको भिडियो बहिरियो ।’

त्यो युवतीले मेरो श्रीमान् भनेर सामाजिक सञ्जालमा फोटा राखेको पाइएको छ । उनकी श्रीमती खड्काले चन्दननाथ–४ हस्पिटल ल्याइमा होटेल व्यवसाय गर्दै आएकी छन् । मुलुकी अपराध संहिता (दफा १७५ को उपदफा ४) ले बहुविवाहलाई अपराध मानेको छ ।

उक्त अपराधको कसुर हेरेर १ वर्षदेखि ५ वर्षसम्म कैद सजाय र १० हजारदेखि ५० हजार रुपैयाँ जरिवानासमेत तोकेको छ । सार्वजनिक पदमा बस्नेलाई अझै बढी सजाय हुन सक्छ । उनले तातोपानी–६ धौलापानीकी अम्बिका न्यौपाने नामकी युवतीसँग दोस्रो विवाह गरेका हुन् ।

वडाध्यक्ष विशाल खड्कालाई यो विषयमा फोनमार्फत सोध्न खोज्दा कुनै प्रतिक्रिया दिएनन् । उनले भेटेर कुरा गर्ने बताए । उनीसँग दोस्रो विवाह गरेकी भनिएकी अम्बिका न्यौपानेले जन्मिएको बच्चाको फोटा र वडाध्यक्षको फोटो फेसबुक प्रोफाइलमा राखेकी छन् ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले विशालविरुद्ध उजुरी नआएको बताए । उनले भने, ‘हल्ला सुनेको थिएँ तर आधिकारिक जानकारी छैन ।’ त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले उजुरी आएको खण्डमा कानुनी रूपमा अघि बढ्ने बताए । जनप्रतिनिधिले यस्तो कार्य गर्नु गम्भीर अपराध भएको महिला अधिकारकर्मीले बताएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार १२:०६