गत बुधबार राति साढे १० बजे काठमाडौंको बुद्धनगरस्थित घरमा खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी सख्त घाइते भए । लगत्तै उनीहरुको मीनभवनस्थित निजामती अस्पताल र राति नै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार थालियो ।
तर उपचारका क्रममा ८८ वर्षीया आमा हरिकला भण्डारीको बिहीबार बिहान निधन भयो । जटिल स्वास्थ्य अवस्थामा रहेका सांसद भण्डारीलाई थप उपचारको निम्ति बिहीबार नै भारतको मुम्बई लगियो । हाल उनको स्थानीय नेशनल बर्न सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । यता, बिहीबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका–१६, लहलौरामा पनि ग्याँस सिलिण्डर पड्किँदा दुई जना घाइते भए ।
स्थानीय कृषि बीऊ कम्पनीमा बिहानको खाना पकाउने क्रममा भएको बिस्फोटमा ५० वर्षीया कुसुम केसी र २९ वर्षीय आशिष खनाल घाइते भएका हुन् । प्रहरीका अनुसार खाना पकाउने क्रममा ग्यास चुहिएर बिस्फोट हुँदा केसीको शरीरको तल्लो भाग धेरै जलेको छ भने खनालका हातगोडा सबै जलेको बताइन्छ । थप उपचारका लागि केसीलाई नेपालगन्ज पठाइएको छ भने चितवन निवासी खनाल थप उपचारको निम्ति भरतपुर पुगेका छन् ।
ती दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ । १२ घण्टाको अन्तरालमा भएका यी दुई घटनाले अहिले ग्यास सिलिण्डरको गुणस्तरमाथि नै प्रश्न उठ्न थालेको छ । पछिल्लो समय हरेकको घरमा ग्यासको प्रयोग हुन्छ । तर, सावधानी कसैले पनि अपनाउने गरेको देखिँदैन । ग्यास सिलिण्डरको रेगुलेटर, कमसल पाइप तथा हाइड्रोस्टोटिक टेस्टसँगै असावधानी तथा सचेतनाका कमीले यस्ता घटनाहरु बढिरहेको विज्ञहरु बताउँछन् ।
एउटा सिलिण्डर खरिद गरेपछि वर्षौं बित्दा पनि सिलिण्डरको अवस्था वा गुणस्तरबारे चेकजाँच गर्ने कमै भेटिन्छन् । हाम्रा ससाना गल्तीले ठूला दुर्घटना निम्ताउने भएकाले बेलैमा सचेतना अपनाउनुपर्ने बताइन्छ । नापतौल तथा गुणस्तर विभागका अनुसार ग्यास सिलिण्डरको आयु तोकिएको हुँदैन । तर, एउटा सिलिण्डर २० वर्षभन्दा बढी उपयोग गर्न उपयुक्त नहुने विभागकी प्रवक्ता ज्योति जोशी भट्ट बताउँछिन् ।
‘हरेक सिलिण्डरको १० वर्षपछि विभागले ‘हाइड्रो स्टाटिक्स’ जाँच गर्छ । उक्त जाँचमा पास भएका सिलिण्डरलाई पुनः ५ वर्ष प्रयोग गर्न दिएर ५ वर्षपछि हरेक ३ वर्षको अन्तरालमा जाँच गरिन्छ,’उनले भनिन्, ‘देशभरबाट ५० ओटा कम्पनीले मात्र एनएस चिन्हको अनुमति तथा स्वीकृति प्राप्त गरेका छन् ।’ त्यसैले, एनएस चिह्न भएका सिलिण्डरको मात्र विभागले जाँच गर्ने हुँदा त्यस्ता सिलिण्डरको मात्र प्रयोग गर्न उनले अनुरोध गरिन् ।
प्रवक्ता भट्टका अनुसार हरेक सिलिण्डरमा अंग्रेजी महिना र वर्षअनुसार सिलिण्डरको माथिल्लो सतहको भित्री घेरामा म्याद लेखिएको हुन्छ । म्यादमा ए, बी, सी वा डी भनेर चारवटा अंग्रेजी अक्षरमध्ये एउटा र सालका दुई अंक उल्लेख गरिएको हुन्छ । उदाहरणका लागि ए.२६ लेखिएको सिलिण्डरले सन् २०२६ को जनवरीदेखि मार्चसम्म जनाउँछ भने बी, सी र डीको अवधि हरेक ३ महिनाका दरले क्रमशः तोकिएको हुन्छ ।
उता नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले सिलिण्डरको माथिल्लो भागको भित्री घेरामा लेखिएको म्याद हेरेर मात्र खरिद गर्न आग्रह गरेका छन् । उनका अनुसार मुलुकभर ६२ ओटा ग्यास उद्योग सञ्चालनमा छन् । ती उद्योगका १ करोड ३० लाख सिलिण्डर बजारमा छन् । तर, तिनको परीक्षण, प्रयोग विधि र सचेतनाको अभावका कारण यस्ता घटनाहरु भइरहेको उनी बताउँछन् ।
उनले भने, ‘अहिले हरेकको घरमा कम्तिमा दुईदेखि ६ वटासम्म सिलिण्डर छ । तर, नागरिक आफैंले सिलिण्डरको सही तरिकाले प्रयोग नगर्दा वा सावधानी नअपनाउँदा जोखिम बढेको हो ।’ यस्ता घटना न्यूनीकरण गर्न नागरिक आफैं सचेत भएर खाना बनाउँदा भान्छा कोठाको झ्यालढोका खुल्ला राख्नुपर्ने, खाना पकाएपछि रेगुलेटर बन्द गर्नुपर्ने, ग्यास लिकेज भएर गन्ध आएमा तत्काल सावधानी अपनाउनुपर्ने वा बिक्रेताले कुच्चिएको वा लिकेज भएको ग्यास बेचेमा निगम लगायत नापतौल तथा गुणस्तर विभागमा उजुरी गर्नुपर्ने उनको सुझाव छ ।
यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणकी अनिता निरौला प्राधिकरणद्वारा सचेतनाका लागि समय समयमा ग्यास सिलिण्डर र चुल्होमा लागेको आगो नियन्त्रणका लागि विभिन्न कार्यक्रम तथा भिडियोमार्फत सन्देश फैलाउने गरिएको दाबी गर्छिन् । नेपाल प्रहरीको चालु आर्थिक वर्ष २०७९–०८० माघ २६ गतेसम्मको तथ्यांकअनुसार हालसम्म ग्यास दुर्घटनामा ५६ जनाको मृत्यु भइसकेको छ ।
१९० जना घाइते भएका छन् भने एक हजार ८६५ वटा आगलागीका घटना भएका छन् । आर्थिक वर्ष २०७७–०७८ को तथ्यांकले भने दुई हजार ६६२ वटा घटनामा ८१ जनाले ज्यान गएको जनाउँछ । त्यस्तै, ती घटनामा ३९५ जना घाइते भएका छन् । यसैगरी, २०७८–०७९ मा आगलागीका दुई हजार ८५३ वटा घटना भएका थिए । जसमा ५६ जनाले आफ्नो ज्यान गुमाए भने १९० जना घाइते भएका हुन् ।
रुषा थापा । काठमाडौं