सूचनाको शक्ति - The Power Of Information

        

२०७९ फागुन ६ गतेको राशिफल, ‘सिंहलाई उत्साह, कन्यालाई बाधा’

२०७९ फागुन ६ गते, शनिवार, १८ फेब्रुअरी २०२३ । फाल्गुण कृष्णपक्ष त्रयोदशी तिथि, १८ः०६ बजे उप्रान्त चतुर्दशी । उत्तराषाढा नक्षत्र, १५ः५९ बजेपछि श्रवण । चन्द्रराशि– मकर ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अस्वस्थताले काममा जुट्न नसकिएला । आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान् । होसियारीसाथ काममा जुट्नुपर्ला । छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय लाग्नेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ । धन र भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । काममा साथीभाइबाट सहयोग मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । लोकप्रिय कामले समाजमा स्थापित बनाउन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कामको अवसर प्राप्त भए पनि परिस्थितिले अलमल्याउन सक्छ । वादविवादमा अघि नसर्नुहोला । परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ । घर–व्यवहारले पनि अल्मल्याउन सक्छ । नयाँ काम थाल्न समय पर्खनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । काम बिग्रने डरले सताउनेछ । अरूको फाइदाका लागि उपयोग भइएला । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । साथीभाइ टाढिनाले रोकिएको काम बनाउन समस्या पर्ला । साझेदारीको सामान्य समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

हिम्मतले काम बन्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । छोटो समयमा उपलब्धि हातलागी हुनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धी परास्त हुनेछन् ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला । परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

भेटघाट र खानपानमा अलमलिनुपर्दा समय बित्नेछ । अस्वस्थताका बाबजुद चुनौतीपूर्ण काममा जुट्नुपर्ला । पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला । आफ्ना कमजोरीमाथि गुनासो र टिप्पणी हुन सक्छ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ । आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला । समयको प्रतिकूलताले काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ । मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ । लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार ०८:०६