अहिले सर्वत्र चासोको विषय हो, मुलुकको नयाँ राष्ट्रपति को ? निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तोकिसकेको छ । अब, राष्ट्रपति निर्वाचन आउन तीन साता मात्रै बाँकी छ । तर, अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार भने टुंगो लाग्न सकेको छैन ।
प्रमुख दलहरू आन्तरिक छलफलमा व्यस्त भए पनि उम्मेदवारका विषयमा टुंगो लगाउन सकेका छैनन् । तर, पनि आ–आफ्नो दाबी पेस गर्न र आफ्नै पक्षमा माहोल सिर्जना गर्न भने छाडेका छैनन् । दलहरूको आ–आफ्नै अडानले कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्नेमा सत्ता गठबन्धन दलमा पनि सहमति जुट्न सकेको छैन ।
यही विषयमा बिहीबार प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टू वान’ वार्ता भयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति हुनुपर्ने अडान दोहोर्याए ।
एमाले अध्यक्ष ओलीले भने सरकार गठन हुँदाको सहमतिबाट यताउता गर्नु नहुने अड्डी कसे । प्रधानमन्त्री प्रचण्डले कम्तीमा मुख्य दलबीच सहमति हुने नाम अघि सार्न प्रस्ताव गरेका थिए । तर, ओलीले भने पुरानो सहमतिअनुसार एमालेले नै अघि सारेको व्यक्ति हुनुपर्ने अडान लिए । दुवै नेताले आ–आफ्नो अडान नछाडेपछि सहमति जुट्न सकेन ।
‘यसबारे भोलि छलफल गरौँला’ भन्दै ओली बालकोटतिर लागे । एमालेले आफूले अघि सारेको व्यक्तिमा सहमति गर्नुपर्ने बताउँदै आएको छ । तर, सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले भने राष्ट्रिय सहमतिको अडान राख्दै आएको छ । प्रचण्डले निरन्तर राष्ट्रिय सहमतिको रटान लगाइरहेका छन् ।
माओवादीसँगै संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले पनि राष्ट्रिय सहमतिको राष्ट्रपतिमा जोड दिएका छन् । जसले गर्दा माओवादीले उठाएको राष्ट्रिय सहमतिको एजेन्डामा थप बल पुगेको छ । माओवादीले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय नै गरिसकेको छ ।
एमालेको राष्ट्रपति स्वीकार्न किन तयार छैन माओवादी ?
गणतन्त्र आएको १६ वर्षमा देशले दुईजना राष्ट्रपति पायो । कांग्रेसका रामवरण यादव र एमालेका विद्यादेवी भण्डारी । यी दुवै राष्ट्रपतिलाई आफ्नो कार्यकालमा दलीय निर्णयका अगाडि नतमस्तक भएको आरोप लाग्ने गरेको छ । राष्ट्रपति संस्थामाथि दलको स्वार्थ हाबी भएको कैयन् नजिर बसेको छ ।
त्यसैले माओवादीले अहिले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको हुनुपर्ने जोड दिइरहेको छ । सरकार गठन गर्दाको सहमतिअनुसार एमालेले नै भनेकै व्यक्तिलाई राष्ट्रपति बनाउने हो भने ओलीको रोजाइमा जो पर्छ, उसै राष्ट्रपति बन्ने सम्भावना छ । ओलीले आफ्ना वफादार कार्यकर्तालाई राष्ट्रपतिमा अघि सार्ने छनक बुझेपछि प्रचण्ड झस्किएका हुन् ।
एमालेलाई राष्ट्रपति दिनैपर्ने भए संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ वा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य भए सहज हुने प्रचण्डको बुझाइ छ । तर, सरकार गठन गर्दाको सहमतिअनुसार आफूले भनेकै व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्नेमा ओलीको जोड छ । त्यसैले प्रचण्डले राष्ट्रिय सहमतिमा जोड दिइरहेका छन् । उनले सार्वजनिक कार्यक्रममै राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन उपयुक्त हुने बताउँदै आएका छन् ।
तर सत्ता गठबन्धनको मुख्य घटक एमाले सरकार गठनका दिन गरेको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने जिकिर छाडेको छैन । एमालेले राष्ट्रपतिको दाबी गर्दै प्रचण्डलाई दबाब दिइरहेको छ । सरकार गठन गर्दाको सहमतिअनुसार साढे दुई वर्षपछि एमालेकै प्रधानमन्त्री पनि बन्ने छ । अहिले राष्ट्रपति एमालेकै हुने भए साढे दुई वर्षपछि सम्पूर्ण शक्ति एमालेको हातमा पुग्ने देखिन्छ ।
प्रधानमन्त्री, राष्ट्रपति र सभामुख सबै एमालेकै बन्ने देखिन्छ । त्यसपछि एमालेको रजाइँ ! त्यस्तै संविधानको संरक्षक भनिने राष्ट्रपतिले निर्णायक अवस्थामा दलको इसारामा निर्णय गरेको घटनाले पनि माओवादी त्रसित छ । तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई त्यसबेलाका प्रधानमन्त्री प्रचण्डले बर्खास्त गरेको घटनामा तत्कालीन राष्ट्रपति यादव प्रधानमन्त्रीको निर्णयविरुद्ध उभिएका थिए ।
त्यस्तै, तत्कालीन प्रधानमन्त्री ओलीले दुईपटक संसद् विघटन गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएका थिए । त्यसैगरी कांग्रेसले नेतृत्वको गठबन्धन सरकारले गरेको केही महत्वपूर्ण निर्णयहरू राष्ट्रपति भण्डारी रोकेर राखेका थिए । उनले संसदबाट दुई पटक पारित भइसकेको नागरिकता विधेयकलाई पनि रोकेका थिए ।
त्यसैले दलको रिमोटमा चल्ने व्यक्ति राष्ट्रपति बन्दा फेरि यस्ता घटना दोहोरिन सक्ने भन्दै माओवादीले राष्ट्रिय सहमतिमा जोड दिइरहेको बुझ्न सकिन्छ । तर, एमालेको अडानले राष्ट्रपतिको उम्मेदवार सहमति जुट्न सकेको छैन । कांग्रेसले आफूले सिफारिस गरेको उम्मेदवार राष्ट्रपति बन्ने दाबी गर्दै आएपनि कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने निर्णय गरेको छैन । जसले गर्दा कस्तो व्यक्ति राष्ट्रपति हुन्छन् अन्योल कायमै छ ।
सत्यपाटी संवाददाता । काठमाडौं