नेपालगञ्जमा नक्कली नोटको बिगबिगी देखिएको छ । कारोबारीले महत्वाकांक्षी र सोझा व्यक्तिमार्फत नक्कली नोटलाई बजारमा पु¥याइरहेका छन् ।
नक्कली नोटका नाइकेहरूले छिटो पैसा कमाउन लागि परेका महत्वाकांक्षी व्यक्तिलाई सक्कलीसँग नक्कली नोट साट्न लगाएर नक्कली नोटलाई बजारमा पठाएका छन् । बाँके प्रहरीले पछिल्लोपटक समातेका तीन जनाको भनाइका अनुसार नेपालगञ्ज बजारमा छ्याप्छ्याप्ती नक्कली नोट पुगेको छ ।
बाँके कोहलपुरका मोहन कुमाई, अछाम तुर्माखादका दीपक विसी र सल्यान बनगाडका मोहन रानालाई प्रहरीले १ हजारको ५ लाख ६९ हजार रुपियाँ नक्कली नोटसहित पक्राउ गरेको छ ।
यी व्यक्तिले २ लाख रुपियाँ सक्कलीसँग ६ लाख रुपियाँ नक्कली नोट साटेका थिए । ६ लाखमध्येमा ३१ हजार रुपियाँ उनीहरूले बजारमा खर्च गरिसकेका छन् । उनीहरूले खाना, नास्ता, बसाइ खर्चमा नक्कली नोट दिने गरेको बयान दिएका छन् ।
बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार, नक्कली नोटको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा तीन जनालाई नेपालगञ्जको न्युरोडबाट पक्राउ गरिएको हो ।
उहाँले अपराधीको फन्दामा परेर पक्राउ परेका व्यक्तिले आफूले पनि लाभ लिने किसिमले कारोबारमा लागेको बताउनुभयो । फाल्गुन २ गते पक्राउ गरिएका उनीहरूलाई बिहीबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।
प्रहरीले मुख्य व्यक्ति अरू नै रहेको जनाएको छ । उसको खोजी गरिरहेको छ । डीएसपी घर्तीमगरले कहाँबाट छापेर, कसरी नेपालगञ्जसम्म आइपुग्यो भन्नेबारेमा अनुसन्धान गरिरहेको बताउनुभयो ।
नेपालगञ्ज सीमावर्ती बजार हो । यहाँबाट सीमावर्ती भारतीय बजारमा दैनिक ठूलो कारोबार हुने गर्दछ । ठूलो बजार भएकाले कारोबारीले नेपालगञ्जलाई लक्षित गरेको देखिन्छ ।
केही दिनअघि नेपालगञ्जको एक होटलबाट प्रहरीले पैसा छाप्ने मेसिन बरामद गरेको छ । होटलमा कोठा लिएर ५० रुपियाँको नक्कली नोट छापिरहँदा प्रहरीले मेसिन बरामद गरेको थियो ।
यसैबीच, प्रहरीले ५० ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका तीन जनालाई पनि बिहीबार सार्वजनिक गरेको छ । माघ २६ गते नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, वाटरपार्कबाट पक्राउ परेका रूकुम पश्चिम सानोभेरीका तिलक डाँगी, सोविराम केसी र विनोदकुमार गौतमलाई प्रहरीले सार्वजनिक गरेको हो ।
ब्राउनसुगर कारोबारको ट्रान्जिट प्वाइन्ट मानिने नेपालगञ्जमा पछिल्लो दिनमा नक्कली नोटको कारोबार बढेको घटनाहरूले देखाइरहेको छ ।
सत्यपाटी संवाददाता । बाँके