सूचनाको शक्ति - The Power Of Information

        

हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान

बाँकेमा हात्तीपाइले रोग निवारण रणनीति असफल, जोखिम धेरै

खानेले औषधि खाइरहने र नखानेले औषधि नखाइदिने गरेका कारण हात्तीपाइले रोगविरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन ।

फाइल तस्वीर

बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताइन् ।

उनले अभियानलाई प्रभावकारी बनाउन सबैको महत्वपूर्ण भूमिका हुने भएकाले यस अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरिन् । रोग निवारणका लागि हात्तीपाइलेविरुद्धको औषधि सेवन एकमात्र उपाय भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति दुर्गा गौतमले जानकारी दिइन् ।

खानेले औषधि खाइरहने र नखानेले औषधि नखाइदिने गरेका कारण हात्तीपाइले रोगविरुद्धको अभियान प्रभावकारी हुन नसकेको उनको भनाइ थियो । यो अभियान यही फागुन ११ देखि सुरु हुँदैछ । यसपटक जिल्लामा ६ लाख १६ हजार ६९५ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्रोत व्यक्ति गौतमले जानकारी दिइन् ।

उनले गर्भवती र सुत्केरी बाहेक सबैलाई औषधि सेवन गर्न आग्रहसमेत गरिन् । नेपालगन्ज उपमहानगरपालिकामा एक लाख ७० हजार ५९८ जना, कोहलपुर नगरपालिकामा एक लाख दुई हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ ।

त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई औषधि खुवाइने भएको छ ।

अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिकामा ५० प्रतिशत, कोहलपुर र डुडुवामा ७८, खजुरामा ७६, राप्तीसोनारी र बैजनाथमा ७३, नरैनापुरमा ७४, जानकी गाउँपालिकामा ८० प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्लामा आर्थिक वर्ष २०६७–०६८ बाट हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको थियो । उक्त वर्ष जिल्लाको कभरेज ९१ प्रतिशत थियो । गत वर्ष बाँकेमा ६८ प्रतिशतले मात्रै औषधि सेवन गरेका थिए ।

बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले औषधि सेवन नै यसको न्यूनीकरण भएको स्वास्थ्य कार्यालयका प्रमुख पौडेलले बताइन् । उनले पाँच वर्ष लगातार औषधि खुवाएपछि ‘प्रि टाक्स सर्भे’ गरेर अर्को वर्ष औषधि खुवाएर निवारण गर्ने रणनीति असफल भएकाले १३ औँ पटक औषधि खुवाउन लागिएको बताइन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १७:१९