मंगलबार राति १० बजे नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भयो । उक्त विस्फोटमा आमाछोरा दुवै घाइते भए ।
गम्भीर घाइते भएकी आमा हरिकला भण्डारीको निधन भइसकेको छ भने सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई पठाइएको छ । भण्डारी गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद हुन् ।
आजै बुधबार बिहान खाना पकाउने ग्यास पड्किँदा दाङ्गमा दुई जना घाइते भए । तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा कार्यरत ५० वर्षीया कुसुम केसी र चितवन भरतपुर महानगरपालिका घर भई तुलसीपुर–१६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भए ।
ग्यासको उपभोग बढ्दै जाँदा बेला–बेला ग्यास लिक भएर आगलागी र विस्फोट भएका घटना पनि उत्तिकै आइरहेका छन् । काठमाडौंस्थित सांसद भण्डारीको घरमा र दाङ्गमा भएको विस्फोट पछिल्लो उदाहरण हो ।
हरेकजसो घरमा ग्यासको प्रयोग हुने हुँदा यो घटनाले ग्यास सिलिन्डरले घरमा निम्त्याउनसक्ने सम्भावित जोखिमबारे उपभोक्ता जानकार र सचेत हुनुपर्ने देखिएको छ । एलपी ग्यास उद्योगीका अनुसार नेपाली बजारमा १ करोड २५ लाख ग्यास सिलिन्डर छन् । हरेक महिना नेपालमा ४५ हजार मेट्रिक टन ग्यास खपत हुन्छ । त्यो भनेको करिब १ लाख सिलिन्डर हो ।
कसरी परिन्छ जोखिममा ?
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्ली ग्यास चुहावट र विस्फोटमा उपभोक्ता बढी सचेत हुनुपर्ने औँल्याउँछन् । किनभने उनीहरु नै बढी ग्यासको प्रयोग गर्छन् । केही पकाइहाल्नुपरे भान्सामा सबैभन्दा पहिलो काम नै ग्यास बाल्ने हुन्छ । त्यसकारणले पनि ग्यास चुहावटमा उपभोक्ताको हात धेरै हुन्छ ।
त्यसबाहेक ग्यास तथा रेगुलेटरको अवस्था पनि जोडिने उनी बताउँछन् । उनका अनुसार एलपी ग्यास अत्यधिक प्रज्वलनशील हुन्छ । सोही कारण यसको प्रयोग अति सचेत भएर मात्रै गर्नुपर्छ । तर नेपालमा बढी लापरबाही हुने गरेको उनको भनाइ छ ।
‘९० प्रतिशतले रेगुलेटर नै बन्द गर्दैनन्’
मल्ली प्रयोग सकिसकेपछि ग्यास बन्द गर्दा अनिवार्यरुपमा रेगुलेटर बन्द गर्नुपर्ने बताउँछन् । ‘तर ९० प्रतिशत नेपालीले चुल्होको स्विच मात्रै बन्द गर्छन्,’ उनले भने, ‘त्यो सबैभन्दा गलत काम हो ।’ अर्कोचाहिँ ग्यास खुलै छोड्ने गरेको पनि पाइने गरेको उनी बताउँछन् ।
‘कुनै पनि ग्यास उपभोक्तालाई खुल्लै छोड्न त छुट नै छैन किनकि त्यसले त दुर्घटना भएरै छाड्छ,’ मल्लीले भने । यस्ता घटना ग्यास सिलिन्डरको लापरबाहीको कारण पनि हुने उनले बताए । तर विगत ७ वर्षदेखि ग्यास सिलिन्डरको गुणस्तरमा सुधार आएको उनको भनाइ छ ।
मल्ली भन्छन्, ‘७ वर्षदेखि सबै ग्यास उद्योगीहरुले गुणस्तर प्रमाणित हुन सफल भएका छन् । नेपाल सरकारले गुणस्तर प्रमाणित गरेका सिलिण्डरहरु मात्रै बजारमा रहन्छन् । त्यसकाणरले ग्यास सिलिन्डरमा धेरै समस्या अहिले छैन ।’
अहिले अधिकांश उद्योगहरुमा स्वचालित प्रणालीबाट ग्यास भरिन्छ भने सिलिन्डर सफा पनि स्वचालित प्रणालीबाटै हुन्छ । त्यसो हुँदा सिलिन्डरको गुणस्तर समस्या हटे पनि रेगुलेटरमा भने समस्या नरोकिएको उनी बताउँछन् ।
बजारमा गुणस्तरहीन रेगुलेटर
मल्ली नेपाल–भारत खुल्ला सिमाना रहेकोले बजारमा गुणस्तरहीन रेगुलेटर भित्रिँदा पनि समस्या आएको बताउँछन् । यसले ग्यास लिक हुने समस्याहरु देखिँदै आएको उनको दाबी छ । दुर्घटनाको रोकथामको लागि भने गुणस्तरहीन रेगुलेटरहरुको आयातमै कडाइ गर्नुपर्ने उनी बताउँछन् ।
त्यस्तै ग्यास सिलिन्डर प्रयोगबारे जनचेतना फैलाउन पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ । अत्यधिक प्रज्वलनशील वस्तुको प्रयोग गर्दा धेरै ध्यान दिनुपर्ने भएकाले सरकारले समेत ध्यान दिनुपर्ने मल्ली बताउँछन् । लिक भएको खण्डमा के गर्ने, लिक नै हुन नदिन के गर्ने भन्ने विषय सबैले जान्नुपर्छ ।
बुधबारको घटनाको प्रकृति हेरेर आशंका गर्ने ठाउँ धेरै रहेको मल्लीको भनाइ छ । ग्यास लिक भएको विषय प्रहरीले समेत भनिरहेको छ । प्रारम्भिक अध्ययनमा भण्डारीको घरमा अँध्यारो कोठामा चुहावटसँगै ग्यास भरिएको र बिजुली बत्ती बाल्दा विस्फोट भएको हुनसक्ने देखिएको छ ।
मल्ली पनि ग्यास भरिएको कोठामा बत्ती तथा टर्चमात्रै बाल्दा पनि आगो लाग्न सक्ने बताउँछन् । यही कारण सांसद भण्डारीको घरमा ग्यास पड्किएको हुनसक्ने मल्लीको भनाइ छ । उनले भने, ‘बत्तीमा आँखाले देख्न नसक्ने स्पार्कहरु हुन्छन्, त्यसले आगो लगाउने काम गर्छ । ग्यास उद्योगहरुले स्पार्कलेस बत्तीहरु प्रयोग गर्ने गर्छन् ।’
सत्यपाटी संवाददाता । काठमाडौं