सूचनाको शक्ति - The Power Of Information

        

जहाज दुर्घटना जाँच आयोगको प्रतिवेदन

जहाज दुर्घटनाको १४ सेकेण्डअघि पाइलटको कमाण्ड परिवर्तन (प्रतिवेदनसहित)

को–पाइलट मञ्जुले नियन्त्रण गर्न नसकेपछि पाइलट कमलले लिएका थिए जहाजको कमाण्ड ।

पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमार्फत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

गत १ माघमा दुर्घटनामा परेको यती एयरलाइन्सको जहाजमा दुर्घटनाको ठीक १४ सेकेण्डअघि पाइलटको कमाण्ड परिवर्तन भएको पाइएको छ । जहाज दुर्घटना हुन १४ सेकेण्ड बाँकी छँदा मात्र प्रशिक्षार्थी अञ्जु खतिवडाको कमाण्डबाट प्रशिक्षक क्याप्टेन कमल केसीले जहाजको नेतृत्व लिएको प्रतिवेदनको निष्कर्ष छ ।

जहाज दुर्घटना जाँच आयोगको प्रतिवेदनमा भनिएको छ, ‘जहाज दुर्घटना हुनुभन्दा १४ सेकेन्ड अघि मात्र दोस्रो पाइलट जहाज नियन्त्रणको सिटमा बसेका छन् । जतिबेला जहाज जमिनदेखि ३११ फिट माथि थियो । को–पाइलटले जहाज नियन्त्रण गर्न नसकेपछि मुख्य पाइलटले जहाजको नेतृत्व लिएको देखिन्छ ।’

‘जहाज निकै तल झरिसकेको र जहाज मोड्न खोज्दा जहाजका दुबै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको छ । जसका कारण इन्जिनले काम गर्न नसक्दा सेती खोचमा झर्न पुगेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । त्यसदिन वातावरण सफा रहेकोसमेत जाँजबुझ समितिले प्रतिवेदनमा भनेको छ ।

जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो । जहाज लेन्डिङ हुन करिब १ मिनेटअघि मात्र दुर्घटनाग्रस्त हुन पुगेको प्रतिवेदनमा उल्लेख छ । डेढ महिनाको कार्यावधिसहित सरकारले माघ १ गते पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।

आयोग सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील प्रधान, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । जहाज दुर्घटनामा ७२ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार ११:३१