सूचनाको शक्ति - The Power Of Information

        

इन्धनका लागि दाउराको सट्टा ‘गुइँठा’ प्रयोग

दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ । चौधरी समुदायमा यसको प्रयोग बढी हुने भए पनि अन्यको घर आँगनमा समेत गुइँठा देख्न सकिन्छ ।

दाउराको विकल्पमा गुइँठा प्रयोग गर्ने गरिएको तुलसीपुर–१२ कचिलाकी मिनकुमारी चौधरीले बताउँछिन् । ‘दाउरा लिन वन जान सकिन्न, यही गुइँठा र अलिकति दाउरा मिसाएर खाना पकाउँछौँ,’ उनले भनिन्, ‘गुइँठा सजिलो लाग्छ ।’

गाई, गोरु, भैँसी र राँगाको गोबरमा पसाल तथा भुस मिलाएर गुइँठा बनाउने गरिन्छ । गुइँठाले दाउराकै काम गर्ने भएकाले थारु समुदायले परम्परादेखि नै यसको प्रयोग गर्दै आएका छन् । पछिल्लो समय अन्य समुदायले पनि गुइँठा प्रयोग गर्ने गरेका छन् ।

अहिले गुइँठा बनाएर बिक्री गर्ने चलन बढेको छ । एक बिटा गुइँठा रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुने गरेको कचिलाकै निर्मला चौधरीले बताइन् । गुइँठाको खरानी खेतीपातीमा मलका लागि प्रयोग हुन्छ ।

‘गुइँठामा पकाएको खाना मिठो हुन्छ,’ तुलसीपुर–१२ का खुसीराम चौधरीले भने । खरानी बारीमा प्रयोग गर्दा कृषिजन्य वस्तुलाई किराबाट समेत जोगाउन सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार ०८:५०