सूचनाको शक्ति - The Power Of Information

        

पार्टीमा आफू अनुकूल मनपर्दी

कमल थापाले अचेल के गर्छन् कुन्नी ?

कमल थापाको सिद्धान्तहिन राजनीति र पदलोलपुताका कारण पार्टी परित्याग गर्ने लहर शुरु भएको छ ।

आफ्नो नाममा दर्ता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कमल थापालाई सशर्त सुम्पने सो पार्टीका पूर्वसंस्थापक अध्यक्ष लाक्पा शेर्पा अहिले राष्ट्रिय उन्मुक्ति पार्टीमा प्रवेश गर्ने तयारीमा छन् । स्रोतका अनुसार कमल थापालाई राप्रपा नेपाल फिर्ता गरेको बताउने तामाङलाई नेतृत्व सुम्पने बेलामा पार्टी दर्ता गर्दा लागेको खर्च दिने सहमति भएको थियो ।

थापाले भने राप्रपा नेपाल आफ्नो कब्जामा लिएपछि शर्तअनुसारको खर्च दिन इन्कार गर्दै आएका छन् । थापा राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएपछि तामाङको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको शरणमा गएका थिए भने तामाङले सहमतिपछि पार्टी नेतृत्व थापालाई सुम्पेका थिए । साथै थापाले पार्टीमा आपूm अनुकूल मनपर्दी गर्न लागेपछि उनी पार्टी छोड्ने तयारीमा लागेका हुन् ।

पार्टी छोड्नुपर्ने मुख्य कारण भने रकमभन्दा थापाको सिद्धान्तहिन राजनीति र पदलोलपुता भएको बताइन्छ । एक भोट होस् कि दुई भोट चुनाव लड्नै पर्ने, पार्टीको अध्यक्ष नै हुनुपर्ने उनको मोहले गर्दा पार्टीमा बेथिति भित्रिएको भन्दै अधिकांश केन्द्रीय पदाधिकारी र सदस्यहरूले सो पार्टी परित्याग गर्ने लहर शुरु भएको छ । कमल थापालाई अध्यक्ष बनाएपछि तामाङ सो पार्टीको उपाध्यक्ष हुन पुगे ।

तर, मंसिर ४ गतेको निर्वाचनमा राप्रपा नेपालबाट आफ्नै चुनाव चिह्न लिएर लड्नुपर्नेमा एमालेको सूर्य चिह्न लिएपछि सोझा लाक्पा रिसाएको बताइन्छ । थापा एमालेबाट सूर्य चिह्नमा चुनाव लड्ने, हामीहरू चैं तीर लिएर लड्नुपर्ने यो कस्तो नीति हो भन्दै उनीहरू पार्टी छाड्ने तयारीमा पुगेका हुन् । त्यसैगरी, तामाङ अध्यक्ष हुँदा वरिष्ठ उपाध्यक्ष रहेका तेजबहादुर भुजेललाई सहमहामन्त्री बनाउने बताएका थिए ।

सो वचन पनि थापाले पूरा गरेनन् । केही दिनअघि मात्रै भुजेल एक दर्जन केन्द्रीय सदस्यसँग रेशम चौधरीको अगुवाइमा रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । त्यसैगरी अर्का नेता दिलनाथ गिरी र दमन बस्नेत पनि पार्टी छोड्ने तयारीमा रहेको बताइन्छ । चुनावताका स्रोत परिचालन समितिको मुख्य जिम्मेवारी पाएका गिरीलाई बाइपास गरेर अध्यक्ष थापाले चुनाव खर्च संकलन र वितरण गरेका थिए ।

स्रोत परिचालन समितिमा खर्च संकलन गरी समानुपातिक तवरले वितरण गर्ने योजना भए पनि आफूखुशी वितरण गरेको बताइन्छ । समितिमा भने जयकुमार खड्काले र अर्का एक जनाले गरी जम्मा दुई लाख रूपैयाँ मात्रै जम्मा गरेको बताइन्छ । यसैकारण समितिका अध्यक्ष गिरी अध्यक्ष थापासँग रिसाएर निष्क्रिय बसेका छन् । अध्यक्ष थापाको क्रियाकलापदेखि असन्तुष्ट बनेका अर्का उपाध्यक्ष श्यामसिंह पनि दुर्गा प्रसाईंंतिर खुलेर हिँड्न थालेका छन् ।

मार्सीको लक्ष्य कता पुग्ला ?

मार्सीका नामले परिचित दुर्गा प्रसाईंंको ब्याजविरुद्धको अभियानलाई अवरोध गर्न बैंकहरू अग्रसर भएको बताइन्छ । स्रोतका अनुसार प्रसाईंंलाई ऋण दिँदै आएको एक बैंकले स्वीकृत गरेको ऋण रकम ७५ करोड रूपैयाँ अहिले रोकिएको छ । नेपालका बैंकहरूले ऋणीहरुमाथि गरेको शोषण र ज्यादतिविरुद्धमा जेहाद छोड्छु भन्दै प्रसाईं सडकमा ओर्लिएपछि सो रकम रोकिएको हो । मेची टु महाकाली भन्दै हिँडेका प्रसाईंले पहिलो नम्बरमा बैंकविरुद्ध जनमत खडा गर्ने र त्यसपछि भ्रष्ट न्यायाधीशहरूको विरुद्धमा मोर्चा कस्ने रणनीति लिएको बताइन्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ०९:५७