सूचनाको शक्ति - The Power Of Information

        

दुर्गममा स्वास्थ्य उपचारका दुःख

उपचार खोज्दै मुगुदेखि वीर अस्पताल धाउँछन् ‘जयलाल दम्पती’

दमको उपचारकै लागि तीन वर्षदेखि मुगुदेखि काठमाडौं धाइरहेका छन्, जयलाल दम्पती ।

निधारमा रातो टीका । नाकमा बुलाकी । गलामा पहेंलो पोते अनि औँलामा दुई ठूला चाँदीका औँठी । मुगुकी केशर बिक (५६) यही भेषमा श्रीमानसँग बसिरहेकी थिइन् । उनका श्रीमान् ६५ वर्षीय जयलाल बिकले दौरा–सुरुवाल, ढाका टोपी र गलबन्दी लगाएका थिए ।

भेषभूषाबाट सहजै अनुमान लगाउन सकिन्थ्यो, यी दम्पती कर्णालीका बासिन्दा हुन् । उनीहरु भेटिएका थिए, वीर अस्पतालको चेस्ट युनिट २२२ नम्बर कोठामा । जहाँ युनिट प्रमुख एवं छातीरोग विशेषज्ञ डा अशेष ढुंगानालाई उनीहरु आफ्नो समस्या सुनाउँदै थिए । श्रीमान्–श्रीमती नै एकै समस्याबाट पीडित छन् । दुवैलाई दमको समस्या देखिएको थियो ।

फरक यत्ति हो, जयलालको समस्या तीन वर्ष पुरानो हो भने केशरको समस्या हालै मात्र निदान भयो । दमको उपचारकै लागि तीन वर्षदेखि मुगुदेखि काठमाडौं धाइरहेका छन्, जयलाल दम्पती । काठमाडौंमा उपचारका लागि आउनु उनीहरुका लागि रहर नभई बाध्यता हो । चिकित्सकले नियमित परीक्षणका लागि कम्तीमा ६ महिनाभित्र आउनु भनेका छन् ।

तर भौगोलिक दूरीका कारण उनी वर्षमा एकपटक वीर अस्पताल पुग्छन् । उनीहरुले वीर अस्पतालमा उपचार गराउन थालेको तीन वर्ष भयो । यो पटक भने उनीहरु उपचारका लागि एक महिनादेखि काठमाडौंमै थिए । मुगुबाट उपचारका लागि काठमाडौंमा आउन निकै समस्या हुने गरेको छोरी मीना बिक बताउँछिन् ।

‘कति टाढा छ । गाडीबाट त ५–६ दिन लाग्छ काठमाडौं आइपुग्न । धेरै गाह्रो हुन्छ,’ उनले भनिन् । काठमाडौं टाढा भएकोले उनीहरु सुरुमा त मुगुकै स्वास्थ्य संस्थामा पुगे । तर दमको समस्या निको भएन । त्यसपछि जुम्ला र नेपालगन्ज पनि पुगे । तर जयलालको समस्या २० को १९ भएन ।

दमले उनलाई समस्या दिइरह्यो । जयलाल धेरै हिँड्न सक्दैनथे । केही कदमको हिँडाइमै उनको श्वास फुलिहाल्थ्यो र स्वाँ–स्वाँ भइहाल्थ्यो । उनलाई भर्याङ चढ्न पनि समस्या थियो । समस्या बढ्दै गएपछि दाइको सल्लाहमा उपचारका लागि वीर अस्पताल आएको मीनाले बताइन् ।

वीर अस्पतालमा गरिएको निरन्तर उपचारपछि दम र टिबी रोगको समस्या ठिक हुँदै गएको जयलाल बताउँछन् । उनी भन्छन्, ‘स्याँ–स्याँ हुन्थ्यो, धेरै गाह्रो भयाछि । डाक्टर सापले चेकअप गरेर दिएको औषधि खायाँ । तीन वर्ष अगाडि यहाँ आयाम । अहिले धेरै राम्रो भयो ।’

धुलो-धुवाँले समस्या

उनीहरु चिसोमा घरभित्रै आगो बालेर ताप्थे । बाहिर बाटो र ढुंगाहरुको धुलो धेरै हुने । घरभित्र र बाहिरको धुलो–धुवाँका कारण आमा–बुवालाई समस्या भएको हुन सक्ने छोरी मीना बताउँछिन् । उनी भन्छिन्, ‘हामी घरभित्र पनि आगो बालेर ताप्थ्यौँ । घर बाहिर पनि ढुंगाको बाटोको धेरै धुलो हुन्छ । त्यो धुलो घरभित्र पनि पस्छ ।’

वीर अस्पतालमा गरिएको उपचारले बुवाको स्वास्थ्यमा सुधार भएपछि आमालाई पनि वीरमै ल्याइएको छोरी बताउँछिन् । ‘अहिले बुवाको स्वास्थ्य धेरै सुधार भइसकेको छ । आमाको पनि उपचार सुरु भयो । अहिले हामी छोराछोरी एकदमै खुसी छौँ । नत्र पहिले बुवा हिँड्न पनि सक्नु हुँदैनथ्यो । हामी एक जना पछाडि बस्नुपर्थ्यो,’ उनले भनिन् ।

तीन वर्षअघि जयलाल दम हुने, खोकी लाग्ने, ज्वरो आउने समस्या लिएर वीर अस्पताल आएको छातीरोग विशेषज्ञ डा ढुंगानाले बताए । धेरै ठाउँको अस्पतालमा उपचार गराए पनि ठिक नभएर उनीहरु वीर अस्पताल आइपुगेको उनी बताउँछन् । परीक्षणका क्रममा जयलाललाई दमसँगै टिबीको समस्या पनि देखिएको थियो ।

छातीरोगको विशेषज्ञ सेवा सबै ठाउँमा नहुँदाको बाध्यता : डा ढुंगाना

वीर अस्पतालमा धेरै बिरामी मुगु, जुम्ला, हुम्लाबाट आउने गरेको र अधिकांशलाई दमको समस्या देखिने गरेको उनी बताउँछन् । ‘उहाँहरु जस्ता धेरै बिरामी यहाँ आउनुहुन्छ । सबैजसोलाई दमको समस्या हुन्छ । छातीको एक्सरे र सिटी स्क्यान गरेर हेर्दा टिबी जस्तो देखिन्छ,’ उनले भने ।

बिरामीहरुसँगको कुराकानीको आधारमा त्यहाँका अधिकांश स्थानीयले घरभित्रै आगो बाल्ने र घर बाहिर पनि धुलो हुने भएकाले समस्या देखिने गरेको उनले बताए । परीक्षणका क्रममा उनीहरुमा सिलिकोसिस अर्थात् फोक्सोमा ढुंगाका कणहरु भेटिएको उनले बताए । यो समस्या विशेषगरी ढुंगामा काम गर्ने र ढुंगाको धुलोको बढी सम्पर्कमा रहेका व्यक्तिहरुको फोक्सोमा कणहरु जम्मा भएर बस्छ ।

यसले छातीमा दाग गराउनुका साथै टिबी हुने सम्भावना पनि बढाउँछ । यस किसिमका बिरामीले सकेसम्म धुलो–धुवाँबाट बच्नुपर्ने डा ढुंगाना बताउँछन् । तीनदेखि ६ महिनाको अवधिमा नियमित परीक्षण आवश्यक भए पनि उनीहरु टाढा भएका कारण वर्षको एक पटक आउने गरेको उनले बताए ।

जयलालकी श्रीमती केशरीलाई पनि उही समस्या देखिएको उनले बताए । डा ढुंगानाका अनुसार सामान्यतया धूमपान गर्ने व्यक्तिलाई ६५ वर्ष कटेपछि मात्र दमको समस्या देखिन्छ । तर उनीहरुमा छिटो दमको समस्या देखियो । घरभित्रको धुवाँ र बाहिरको ढुंगाको धुलोका कारण उनीहरुमा दमको समस्या देखिएको उनी बताउँछन् ।

छाती रोग सम्बन्धी सबै विशेषज्ञ सेवाहरु देशका विभिन्न ठाउँमा सहज रुपमा उपलब्ध भए उनीहरु जस्तो बिरामी टाढाबाट धाएर काठमाडौंमै आउनुपर्ने बाध्यता हट्ने उनले बताए । ‘काठमाडौं बाहिरका अन्य अस्पतालहरुमा छाति रोग सम्बन्धी सबै विशेषज्ञ सेवाहरु उपलब्ध हुनुपर्छ,’ उनले भने, ‘एउटा सामान्य दमको उपचार यहाँको जस्तै हुन्थ्यो भने यो रोगको पहिचान र उपचार त्यहीँ नै हुन्थ्यो । त्यति टाढाबाट यहाँ आउनु पर्दैनथ्यो ।’

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १७:५०