सूचनाको शक्ति - The Power Of Information

        

निजामती प्रशासनभित्रको विकृती

गृहमा सहसचिवको बेहाल, सुधारका काम अलपत्र

गृहमा सहसचिव मात्र होइन एक दर्जन उपसचिव पनि जिम्मेवारीविहिन छन् ।

मन्त्रीविहिन गृह मन्त्रालय यतिबेला अस्तव्यस्त बनेको छ । रवि लामिछानेले एक महिनामै मन्त्रालयको कार्यशैली बदल्ने प्रयास गरे पनि उनी हटेपछि मन्त्रालय सुनसान जस्तै छ । सुधारका सबै कामहरु अलपत्र परेका छन् ।

केही काम नभए पनि कर्मचारीको भने भिडभाड छ । कतिसम्म भने सात जना सहसचिव त जिम्मेवारीविहिन छन् । हालैको सिडिओ सरुवामा हेरफेरमा परेका सहसचिवहरुलाई मन्त्रालयमा राखिए पनि उनीहरुलाई कुनै जिम्मेवारी दिइएको छैन ।

सहसचिवहरु गोविन्द रिजाल, आस्मान तामाङ, रुद्रादेवी शर्मा, उमेश ढकाल, सुमन घिमिरे, थानेश्वर गौतम, लालबाबु कवारी मन्त्रालय जाने र हाजिर गरेर फर्कने गरेका छन् । उनीहरुलाई बस्ने कोठा समेत छैन ।

जनतालाई सेवा दिने कार्यालय कर्मचारी अभावले अस्तव्यस्त छ । तर, मन्त्रालयमा भने कर्मचारी धेरै भएर अस्तव्यस्त बन्न पुगेको छ । गृहमा सहसचिव मात्र होइन एक दर्जन उपसचिव पनि जिम्मेवारीविहिन छन् ।

मित्रलाल शर्मा, कल्पना शर्मा, गंगाबहादुर क्षेत्री लगायत उपसचिव पनि जिम्मेवारीविहिन छन् । यसरी मन्त्रालयमा अनावश्यक कर्मचारीलाई व्यवस्थापनका लागि सचिव विनोदप्रकाश सिंहले पनि चासो दिएका छैनन् । गृहमा यो नयाँ रोग भने होइन ।

कतिपय कर्मचारी महिनौंसम्म मन्त्रालयको बादर्लीमा बस्ने र पावर मिलाएर सिडिओ जाने समेत गरेका छन् । तर, उच्च पदका कर्मचारीहरु महिनौंसम्म काम नगरी हाजिर मात्र गर्ने प्रवृत्तीले निजामती प्रशासनभित्रको विकृती प्रष्ट पार्छ ।

मन्त्रालयमा केदारनाथ शर्मा कर्मचारी प्रशासन शाखाको प्रमुख छन् । उनी विगतमा पनि गृहमा बसेका थिए । माओवादीसँगको निकताका कारण उनी गृह फर्किएका हुन् । त्यस्तै, जितेन्द्र बस्नेतले शान्ति सुरक्षा समन्वय महाशाखा तथा प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

उनी चितवनको सिडिओ हुँदा प्रचण्डसँग निकट भएको आधारमा सो अवसर पाएका हुन् । चितवनमा हुँदा घुस लिने कर्मचारीलाई जोगाएको विषयमा अख्तियारले उनीमाथि छानबिन गर्न विभागीय कारबाहीको सिफारिससमेत गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १६:३५