बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ मा धार्मिक महामहोत्सव २०७९ आजदेखि सुरु भएको छ । आजदेखि सुरु भएको महामहोत्सव फाल्गुन ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
महामहोत्सवको पहिलो दिन आज बिहान कलश यात्रा गरिएको थियो । साथै, महामहोत्सव उद्घाटन कार्यक्रममा विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।
काँरकादोस्थित दुर्गा भगवती मन्दीरमा सतसंग भवन एवं अतिथी गृह निर्माणार्थ महामहोत्सव आयोजना गरिएको बाँके नेपालगन्ज काँरकादो धार्मिक महामहोत्सव २०७९ आयोजक समितिका उपाध्यक्ष सुनिता खड्काले जानकारी दिइन् ।
श्री ईश्वरशरण महाराज जी संकल्पकर्ता रहेको महामहोत्सव श्री परषेतमशरण लम्सालले कथा वाचन गरिरहेको आयोजक समितिका अध्यक्ष सुवर्ण गिरीले जानकारी दिए । उनका अनुसार महामहोत्सवले नेपालगन्जको धार्मिक महत्वलाई थप उजागर गर्नेछ ।
साथै महामहोत्सवले दुर्गा भगवती मन्दीरको विकासका साथै बाँकेकै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको पनि अध्यक्ष गिरीले बताए । महामहोत्सवमा जिल्लाका विभिन्न क्षेत्रबाट भक्तजनहरूको आगमन भएको छ ।
आयोजक समितिका कोषाध्यक्ष विश्वकला कोइरालाका अनुसार महामहोत्सव सम्पन्न गर्नका लागि १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धार्मिक पर्यटनको प्रवर्द्धनार्थ आयोजित महामहोत्सवमा सबैले सहयोगका लागि हातेमालो गर्नुपर्ने उनको धारणा छ ।
सत्यपाटी संवाददाता । बाँके