सूचनाको शक्ति - The Power Of Information

        

शिक्षामा बेतिथि, विद्यार्थीको भविष्य चौपट

१२ दिनको विदा मागेका प्रधानाध्यापक ६ महिनादेखि विद्यालयमा अनुपस्थित

प्रधानाध्यापक नै लामो समयदेखि विद्यालयमा अनुपस्थित भएकाले विद्यार्थीको भविष्य चौपट भइरहेको छ ।

बझाङको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक ६ महिनादेखि विद्यालयमा अनुपस्थित भएका छन् । साइपाल गाउँपालिका–४ धुलीस्थित धुली माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज जोशी भदौ महिनादेखि विद्यालयमा अनुपस्थित भएका हुन् ।

प्रधानाध्यापक जोशीले आफु विरामी भएको भन्दै भदौ महिनामा निवेदन दिएर १२ दिनको विदा मागेको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट (भोटे)ले १२ दिनको विदा मागेका प्रधानाध्यापक जोशी हालसम्म विद्यालयमा हाजिरी नभएको बताए ।

उनले भने, ‘विद्यालयमा विरामी भएकाले उपचारका लागि १२ दिनको निवेदनमार्फत विदा माग्नु भएको हो । फागुन सुरु हुन लाग्दा पनि उपस्थित हुनुभएको छैन । विद्यालयको नीतिगत समेत वृद्धि विकासमा समेत बाधा पुगेको छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बोहराले नियमित लामो समयदेखि प्रधानाध्यापक नै विद्यालयमा नआउँदा समस्या भइरहेको बताए । उनले भने, ‘फोन गर्दा आउँछु भन्नुहुन्छ । अभिभावकले प्रधानाध्यापक अहिलेसम्म किन अनुपस्थित भए भनेर सोध्छन् ?’

यसबारे पटक पटक गाउँपालिकामा जानकारी गराउँदा समेत कुनै पहल भएको नभएको पनि उनले गुनासो गरे । स्थानीय अगुवा शेरबहादुर बोहराले प्रधानाध्यापक नै लामो समयदेखि विद्यालयमा अनुपस्थित भएकाले विद्यार्थीको भविष्य चौपट भइरहेको बताए ।

साइपाल गाउँपालिका शिक्षा शाखा सह–संयोजक ज्ञानबहादुर बोहराले उक्त विद्यालयमा प्रधानाध्यापक अनुपस्थितबारे आफुले सम्बन्धित विद्यालयमा बुझेको र अनुगमन गरेको बताएका छन् ।

उनले भने, ‘अस्ति राष्ट्रपति रनिङ शिल्ड सुरु हुँदा सदरमुकाम चैनपुरमै हुनुहुन्थ्यो । अहिले उपचार गर्न जानु भएको भन्ने खबर आएको छ ।’ यता प्रधानाध्यापक जोशीले भने फोन उठाएका छैनन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार ०८:५५