सूचनाको शक्ति - The Power Of Information

        

केपी ओली कप : पुलिस र सातदोबाटो पहिलो खेलमा भिड्ने

फागुन ११ गतेबाट आयोजना हुने केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् ।

आयोजक युवा संघ नेपालले आइतबार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेल फागुन ११ गते सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो तीन बजेबाट सुरु हुने छ ।

फागुन १७ गतेसम्म हुने प्रतियोगितामा फागुन १२ मा दुई खेल हुने छन् । बिहान ११ बजेबाट सुरु हुने विभागीय टोली त्रिभुवन आर्मी क्लवले न्युरोड टिम (एनआरटी) को सामना गर्ने छ ।

यसैगरी सोही दिन दिउँसो तीन बजे हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्समा हुने छन् । नकआउट प्राणालीमा आयोजना हुने प्रतियोगितामा हरेक खेलको विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

सेमिफाइनल फागुन १४ र १५ गते एन्फा कम्प्लेक्समा हुने छ । यस्तै, प्रतियोगिताको फाइनल खेल भने फागुन १७ गते त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ पाँच बजे हुने तालिका रहेको छ ।

कुल सात खेल हुने प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयीमान खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त आयोजकले यस अघि नै जानकारी दिएको छ । यस्तै, हरेक खेलको विजेता टोलीलाई २५ हजार रुपैयाँ दिइनेछ भने प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’लाई १५ हजार प्रदान गरिने छ ।

प्रतियोगिमा शहीद स्मारक ‘ए’ डिभिजन लिगका सात र आयोजकको एक गरी कुल आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ क्लब र जवालाखेल युथ क्लब तथा आयोजकको केपी ओली फुटबल क्लबले प्रतिष्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतवार १८:३३