सूचनाको शक्ति - The Power Of Information

        

‘बिदा धेरै भए’ भन्ने प्रचण्डले थपे अर्काे ‘बिदा’

जनसेवा प्रवाह प्रभावित भएकाले सरकारले दिँदै आएका सार्वजनिक बिदामा पुनर्विचार गर्नुपर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक साता नबित्दै अर्को बिदा थपेका छन् ।

प्रचण्ड नेतृत्वको क्याबिनेटले १ फागुनमा ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ‘जनयुद्ध दिवस’ मनाउन भन्दै प्रचण्डले भोलि (१ फागुन) सार्वजनिक बिदा दिने निर्णय आइतवारको मन्त्रिपरिषद्बाट गराएका हुन् ।

प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) ले १ फागुन २०५२ मा ‘सशस्त्र संघर्ष’को सुरुवात गरेको थियो । प्रचण्डले मन्त्रिपरिषदमा यस विषयमा यथेष्ट छलफल भएर निर्णय गरिएको हो वा प्रधानमन्त्रीय पद्धतिको फाइदा लिँदै बिदा दिने निर्णय गरेका हुन्, प्रष्ट छैन ।

माघ १२ देखि २२ गतेसम्म चलेको माओवादी स्थायी समिति बैठकले भने माओवादी नेतृत्व भएका स्थानीय सरकारहरुले अभियानका रुपमा ‘सशस्त्र संघर्ष’ सुरुवात गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार माओवादी विजयी भएका कतिपय स्थानीय तहका अलावा कर्णाली र बागमती प्रदेश सरकारले १ फागुनमा बिदा दिने निर्णय गरिसकेका छन् । अहिले संघीय सरकारकै नाममा बिदा घोषणा गरिएको निर्णय सार्वजनीक भएको छ ।

पाँच दिनअघि मात्रै प्रचण्ड आफैँले सार्वजनिक बिदा धेरै हुँदा सेवा प्रवाह प्रभावित भएको बताउँदै यसमा पुनर्विचार गर्नुपर्ने बताएका थिए । २४ माघमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले विदामा पुनर्विचारको आवश्यकता औँल्याएका थिए ।

‘हाम्रा सरकारी बिदाहरु धेरै भए, यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ,’ उनले भनेका थिए, ‘यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषद्मा पनि छलफल गरेका छौँ, गृहकार्य गरेर पुनर्विचार गर्नुपर्छ ।’

‘सरकारी बिदा धेरै भएकाले पुनर्विचार गर्नुपर्ने’ बताएको ब्यहोरासहितको समाचार प्रचण्डको आधिकारिक फेसबुक पेज ‘सीएम प्रचण्ड’मा अहिले पनि देख्न सकिन्छ । ‘बिदा धेरै भए’ भन्दै कटौतिको आवश्यकता औँल्याएका प्रचण्डले साता नबित्दै आफ्नो पार्टीका लागि विशेष दिन मानिएको जनयुद्धको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय सरकारी तबरबाटै गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतवार १८:३०