पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल धनगढी पुगेका छन् । उनी आजै बुद्ध एअरको उडानमार्फत धनगढी पुगेका हुन् ।
भोलि काठमाडौं फर्कने कार्यक्रम बनाएर धनगढी पुगेका अध्यक्ष नेपाल हिजो राति बालुवाटारमा भएको राजनीतिक छलफलमा सहभागी भएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,काँग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष नेपालबीच राति डेढ घण्टा विकसित राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल भएको बताइन्छ ।
उता प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका काँग्रेस संसदीय दलका नेता कमल शाहले शुक्रबार समाजवादीलाई समेत समेटेर क्याबिनेट गठन गरेका छन् ।
नवनियुक्त दुई मन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवाका भतिज प्रकाश देउवा र समाजवादीसम्बद्ध युवा संगठनका अध्यक्ष नरेश शाही छन् । देउवाले भौतिक पूर्वाधार विकास र शाहीले आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी पाएका छन् ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावललाई गठबन्धनको एउटा घटक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि उनी स्वतः पदमुक्त हुँदा काँग्रेसले सरकारको नेतृत्व प्राप्त गरेको हो ।
गत पुस २७ गते एमालेका १० माओवादी केन्द्रका ११,नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए ।
५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमतसिद्ध गर्न २७ मत आवश्यक पर्नेमा सरकार गठन भएको एक महिनामै सत्ताघटक नागरिक उन्मुक्तिले साथ छाडेपछि गठबन्धन सरकार ढलेको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं