सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रालय बाँडफाँडमा असन्तुष्टि

लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । बिना विभागीय मन्त्री केसी आफूले मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा बुझाएको बताएकी छन् ।

‘मैले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएको छु’, उनले भनिन् । तर के कारणले राजीनामा बुझाउनु परेको भन्ने सन्दर्भमा भने उनले खुलाइनन् । माओवादी सांसद उनी पुस २८ गते बिना विभागिय मन्त्रीमा नियुक्त भएकी थिइन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसीले राजीनामा दिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि पुष्टि गरेका छन् । उनले यसबारे थप छलफल भइरहेको बताएका छन् ।

मन्त्रालय बाँडफाँडमा असन्तुष्ट भएपछि बिना विभागीय मन्त्री केसीले राजीनामा दिएको माओवादी स्रोतको भनाई छ । माओवादी स्रोतका अनुसार आफूलाइ कमजोर मन्त्रालय पार्न खोजिएको भन्दै उनले राजीनामा दिएकी हुन् ।

माओवादीको भागमा परेको भौतिक पुर्वाधार मन्त्रालय उनको रोजाइमा थियो । तर यो मन्त्रालय नपाउने भएपछि बिना विभागीय मन्त्री केसीले राजिनामा दिएको हुन सक्ने माओवादी स्रोतको भनाइ छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १३:५४