सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत लिने भएका छन्।
जसका लागि आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। आज विश्वासकाे मत लिने अन्तिम दिन हो।
बुधबार बसेकाे प्रदेशसभाकाे बैठक अन्तिम समयमा स्थगित भएकाे थियाे।
रावलले विश्वासको मत पाउनेमा आशंका देखिएपछि बैठक स्थगित गरिएकाे हाे।
सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्। तर बहुमत पुर्याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ।
नागरिक उन्मुक्त पार्टीले मुख्यमन्त्री रावललाई विश्वासकाे मत नदिने भएपछि उनलाई बहुमत पुर्याउन गाह्राे भएकाे छ।
संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण उनले अन्तिम चरणमा विश्वासको मत लिन लागिपरेका हुन्।
एक महिनाभित्र प्रदेशसभाबाट विश्वासकाे मत लिन नसकेमा स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ।
सत्ता गठबन्धनअन्तर्गत माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
सत्यपाटी संवाददाता । काठमाडौँ