वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति तरल अवस्थामा छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनपश्चात् मुलुकमा स्थिरता कायम हुनेछ भन्ने जुन अपेक्षा गरिएको थियो, त्यस विपरीत मुलुक अस्थिरतातर्फ धकेलिन सक्ने खतरा पैदा भएको छ ।
निर्वाचन सम्पन्न भएबाट संविधानको कार्यान्वयन र लोकतन्त्रको अभ्यासमा केही सकारात्मक योगदान भएको छ । तर, जुन त्रिशंखु प्रतिनिधि सभा बनेको छ । त्यसबाट मुलुक अस्थिरतातर्फ धकेलिन सक्ने खतरा उत्पन्न भएको छ । अहिलेको प्रतिनिधिसभा त्रिशंखु मात्र होइन खिचडी प्रकृतिको समेत छ ।
त्यहाँ गणतन्त्रवादी र गणतन्त्र विरोधी, संघीयतावादी र संघीयता विरोधी, धर्म निरपेक्षतावादी र धर्म सापक्षतावादी, परिवर्तनकारी र पुनरुत्थानवादी, यथास्थितिवादी र अग्रगामी आदि चरित्रका राजनीतिक शक्तिहरू उपस्थित छन् । यी शक्तिहरू बीचको द्वन्द्वले गर्दा मुलुकमा अस्थिरता तथा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा निम्तिन सक्छ ।
भूराजनीतिक जटिलता थपिदै जाने र राष्ट्रियतामाथि दखल पुग्न सक्ने खतरा छ । निर्वाचनबाट मुलुकको राजनीतिक शक्ति सन्तुलनमा परिवर्तन भएको छ । स्थापित राजनीतिक दलहरूको जनमत आम रूपमा घटेको छ । २०७४ को निर्वाचनमा मुलुकको पहिलो दल बनेको नेकपा (एमाले) यसपटक दोस्रो स्थानमा ओर्लिएको छ ।
त्यसबेला दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस अहिले पहिलो बन्न पुगेको छ । यद्यपि, त्यसको लोकप्रिय मत भने घटेको छ । तेस्रो स्थानमा रहेको माओवदी केन्द्र तेस्रो स्थानमै रहे पनि लोकप्रिय मत त्यसको पनि घटेको छ । चौथो र पाँचौँ स्थानमा रहेका मधेसवादी दलहरू पछि परेका छन् । हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) पनि अपेक्षा गरिएभन्दा पछाडि परेको छ ।
राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपाको जनमत बढेको छ । स्पष्ट सिद्धान्त, विचार र कार्यदिशा केही नभएको केवल पुराना पार्टी र तिनका नेतालाई गाली गरेर उदाएको रास्वपा, विगतमा पृथकतावादी गतिविधि चलाएका सिके राउतको जनमत पार्टी र थारु पहिचानको माग उठाएका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसमेत नयाँ शक्तिको रूपमा अस्तित्वमा आएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध संघर्ष गर्ने क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको थियो । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन’ भन्ने प्रतिबद्धताका साथ तत्कालीन गठबन्धन निर्वाचनमा गएको थियो । यस प्रतिबद्धताअनुसार निर्वाचनपछि उक्त वाम–लोकतान्त्रिक गठबन्धनकै सरकार बन्नु पथ्र्यो ।
तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबैले आफु पहिले प्रधानमन्त्री बन्नुपर्ने अडान लिएको र एकपटक बचन दिइसकेका देउवा प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन तयार नभएपछि प्रचण्ड अप्रत्यासित रूपमा एमालेसहितका दलहरूसँग गठबन्धन गरी प्रधानमन्त्री बन्न गएकाले निर्वाचनका बेला कायम रहेको वाम–लोकतान्त्रिक गठबन्धन भंग भएको छ ।
अप्रत्यासित रूपमा नपाँ परिस्थिति उत्पन्न हुनुमा मूख्य चार कारण रहेका छन् । निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली कांग्रेसमा शक्तिको घमण्ड बढ्नु, कांग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु, केपी ओलीले वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु र माओवादी केन्द्रको सत्ता केन्द्रित सोंच र आफुलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिड्ने प्रवृत्तिका कारण तत्कालीन गठबन्धन भत्किन पुगेको छ ।
नेकपा (माओवादी केन्द्र) अप्रत्यासित रूपमा निर्वाचनका बेलाको गठबन्धन छाडी नयाँ गठबन्धनमा गएपछि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, जसपा, रास्वपा, नाउपा र जनमत पार्टी मिलेर सत्ता गठबन्धन बनेको छ । यो गठबन्धन खिचडी प्रकृतिको छ ।
यसमा संविधानको पालना नगर्ने एमाले, गणतन्त्रको पक्षधर माओवादी केन्द्र र गणतन्त्रको विरोधी एवं हिन्दू राज्य र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपा, संघीयताको पक्षधर जसपा र संघीयता विरोधी राप्रपा एवं रास्वपा, जातीय पहिचानवादी नागरिक उन्मुक्ति पार्टी र पृथकतावादी पृष्ठभूमिको जनमत पार्टी एकै ठाउँमा रहेका छन् ।
यो गठबन्धन प्रगतिशील चरित्रको छैन । यसको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट छैन । त्यसैले यो विचारहीन र अराजनीतिक चरित्रको छ । यसलाई वाम–दक्षिणपन्थी खिचडी गठबन्धन भन्नु उपयुक्त हुन्छ ।
आजको अवस्था हिजो दुईदुई पटक संसद विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कार्यबाट सुरु भएको प्रतिगमनकारी यात्राकै परिणाम हो । तिनै ओली वर्तमान सत्ता गठबन्धनले निर्माण गरेको राजनीतिक संयन्त्रको प्रमुख बनेका छन् । उनले आफ्नो दृष्किोण र उद्देश्य अनुरुप गठबन्धनलाई घोर दक्षिणपन्थी दिशातर्पm लाने प्रयत्न गर्दै छन् ।
वर्तमान सत्ता गठबन्धनले निर्माण गरेको सरकार पनि प्रगतिशील होइन खिचडी चरित्रकै छ । सरकारको स्वरूप एकदमै भद्दा छ । चार वटा उपप्रधानमन्त्री राखिएको छ र स्वार्थ बाँझिने गरी मन्त्रीहरू नियुक्त गरिएको छ । राजनीतिक रूपमा अपरिपक्व व्यक्तिहरू मन्त्री बनेका छन् ।
सत्ता गठबन्धनका नेता र मन्त्रीहरूका अभिव्यक्ति र प्रतिबद्धताहरू यथार्थसँग पटक्कै मेल नखाने खालका छन् । उनीहरूका अभिव्यक्तिबाट संविधान, गणतन्त्र र संघीयतामाथि खतरा पैदा भएको छ । त्यसले गर्दा जनतामा नकारात्मक प्रभाव पर्न थालेको छ ।
गठबन्धनभित्रै पनि मतभेद र असन्तुष्टि देखापरेको छ । राजनीतिक वृत्तमा एक प्रकारको अन्योल सिर्जना भएको छ । विचारहीन र अराजनीतिक सत्ता गठबन्धन बनेको हुँदा मुलुकमा राजनीतिक स्थिरता कायम हुने होइन बरु अस्थिरताको खतरा बढेको छ ।
मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको छ । समाजवादी कार्यदिशा आँगालेका शक्तिहरू विरुद्ध प्रहार भइरहेको छ । मुलुकको आर्थिक अवस्था झनै संकटग्रस्त हुँदै गएको छ । राजनीतिक क्षेत्र एक प्रकारको अनिश्चयात्मक परिस्थितिबाट गुज्रिरहेको छ ।
हाम्रो पार्टीले सहमति र स्थिरता कायम गर्न सकिन्छ कि भन्ने सोचेर १५ बुँदे सुझावसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ । हामीले सरकारमा सामेल हुन समर्थन गरेका होइनौँ, सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले सुझावसहित प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएका हौँ । नेकपा (माओवादी केन्द्र) विगत गठबन्धनको वाम सहयात्री भएकाले शंकाको सुविधा पनि दिएका हौँ ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि सरकार गठन गर्नका लागि समर्थन होइन सहमतिकै आशयले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ । मुलुकलाई सहमतिको मार्गमा डोर्याउने कि नडोर्याउने भन्ने जिम्मा अब नेकपा (माओवादी केन्द्र) र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा रहेको छ ।
अहिले मुलुकको राजनीतिक रंगमञ्चमा विभिन्न खाले राजनीतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण अँगालेका र विभिन्न चरित्र भएका राजनीतिक शक्तिहरू क्रियाशील छन् । ती राजनीतिक शक्तिहरू संसदभित्रसमेत क्रियाशील छन् भने केही संसद बाहिर मात्रै क्रियाशील छन् । संसद बाहिर खासगरी बिप्लव समूह, वैद्य समूह आदि कम्युनिष्ट आन्दोलनभित्रका केही घटकहरू रहेका छन् ।
अहिले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलका रूपमा रहेको नेपाली कांग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी हो । नव उदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ । तथापी, यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको पाइन्छ ।
प्रतिनिधि सभाको दोस्रो ठूलो दलका रूपमा रहेको नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन । दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन । विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ ।
प्रतिनिधिसभाको तेस्रो ठूलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी हो । यसको पनि वर्ग अडान स्पष्ट छैन । सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ । यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ । तर, सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ ।
प्रतिनिधि सभाको चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पँुजीपति वर्ग चरित्रको पार्टी हो । यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन । संविधानवादको कुरा गरे पनि गणतन्त्र र संघीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन । यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने गर्दछ । यसले पनि त्यही भूमिका निर्वाह गर्दैछ ।
प्रतिनिधि सभाको पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सामन्ती तथा दलाल नोकरशाही पँुजीपति वर्ग चरित्रको पार्टी हो । यो पार्टी समाजमा अवशेषको रुपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र सब्घीयता विरोधी पार्टी हो । यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनःस्थापना गर्न चाहन्छ ।
प्रतिनिधि सभाको छैँठौँ स्थानमा रहेको जनता समाजवादी पार्टी प्रजातान्त्रिक समाजवादी सिद्धान्त आँगालेको पार्टी हो । मुख्यतः मधेश प्रदेशमा प्रभाव राख्ने यो पार्टी मधेशको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र सब्घीयताप्रति प्रतिवद्ध रहेको छ ।
प्रतिनिधि सभाको आठौँ स्थानमा रहेको जनमत पार्टी विगतमा मधेशलाई नेपाली उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनु पर्दछ भन्ने पृथकतावादी सोंच आँगालेको पार्टी हो । तर, अहिले संविधान मान्ने र त्यस अन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको छ । यो पार्टी गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध रहेको छ ।
प्रतिनिधि सभाको नवौँ स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी बुर्जुवा चरित्रको पार्टी हो । मुख्यगरी, मधेस प्रदेशमा केन्द्रित रहेको र मधेसका मुद्दामा नै बढी चासो राख्ने यो पार्टी पनि मधेशको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो । यो गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध रहेको छ ।
संसदको १०औँ स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड दिने पार्टी हो । यो पार्टी थारु जातिको पहिचान र अधिकारलाई मुख्य विषय बनाएर संगठित एवं क्रियाशील छ । यसको वर्ग चरित्र स्पष्ट छैन ।
प्रतिनिधि सभाको ११औँ स्थानमा रहेको नेपाल मजदुर किसान पार्टी जडसूत्रवादी एवं अत्यन्त संकीर्ण चरित्रको कम्युनिष्ट पार्टी हो । यो पार्टी मूलतः श्रमजीवी वर्गको पक्षमा उभिन्छ । तर, नेतृत्वमा रहेको निम्नमध्यम वर्गीय जडता र संकीर्णताले गर्दा निरन्तर खुम्चिदै गएको छ । भक्तपुर जिल्लामा सीमित यो पार्टी संविधान र गणतन्त्रप्रति प्रतिबद्ध नै छ ।
प्रतिनिधिसभाको १२औँ स्थानमा रहेको राष्ट्रिय जनमोर्चा नेकपा (मसाल)को खुला राजनीतिक संगठन हो । यो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध तर, संघीयताको विरोधी पार्टी हो ।
नेपाली श्रमजीवी वर्गको सच्चा प्रतिनिधिका रूपमा रहेको हाम्रो पार्टी प्रतिनिधि सभाको सातौँ स्थानमा छ । हामी वर्तमान संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध रहदै समाजवादी कार्यदिशा अँगालेर अगाडि बढिरहेका छौँ ।
हामीले आजभन्दा करिव १६ महिना पहिले तत्कालीन नेकपा (एमाले) मा व्याप्त दक्षिणपन्थी अवसरवाद एवं विसर्जनवाद, व्यक्तिवादी अहंकारवाद, निरंकुश एवं स्वेच्छाचारी प्रवृत्ति र चरम गुटबन्दीका साथै संविधानमाथिको आक्रमण र जनक्रान्तिका उपलब्धीमाथि धावा बोल्ने प्रतिगमनकारी कदमका विरुद्ध विद्रोह गरेर पार्टी पुनर्गठन अभियान सुरु गरेका थियौँ । त्यो अभियान अहिले पनि जारी छ ।
आजको राजनीतिमा सैद्धान्तिक रुपले हामी नै नेकपाका सच्चा प्रतिनिधि हौँ तर, एमालेबाट विद्रोह गरी आएको हुनाले त्यसका कैयन विसंगतिहरू हामीसँग पनि आएका छन् । हामीले ती विसंगतिहरूबाट आफुलाई मुक्त गरेर अगाडि बढ्नुपर्छ ।
विभिन्न प्रकारका समस्या र कमी कमजोरीका बाबजुद यस निर्वाचनबाट केही उपलब्धि पनि हासिल भएको छ । यस निर्वाचनबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित १० जना र प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित १५ तथा समानुपातिक ९ गरी जम्मा २४ जना सदस्य निर्वाचित हुनुभएको छ । यो सानै भए पनि उपलब्धि हो ।
यस निर्वाचनबाट प्राप्त सबैभन्दा ठूलो शिक्षा भनेको सफलता प्राप्त गर्नका लागि बलियो र व्यवस्थित संगठन अनिवार्य छ भन्ने हो । त्यसबाहेक आर्थिक एवं स्रोत साधनको व्यवस्थापन हुनुपर्ने, जनताको मन छुने खालका प्रभावकारी प्रचार सामग्रीहरू हुनुपर्ने रहेछ भन्ने जस्ता शिक्षा पनि यस निर्वाचनले हामीलाई दिएको छ । यी शिक्षा हामीले पहिले पनि प्राप्त गरेकै शिक्षा हुन् ।
तथापि, यस निर्वाचनका माध्यमबाट पुनर्ताजगी भएको छ । यस पटकको निर्वाचनले आम जनतामा पुराना स्थापित दलहरूप्रति विकर्षण र नयाँ दलहरूप्रति आकर्षण बढेको देखायो । पुराना दलहरू रूपान्तरित नहुने हो र परम्परागत ढंगले नै चल्ने हो भने उनीहरूप्रतिको विकर्षण अझै बढ्दै जाने देखिन्छ । यो पनि यस निर्वाचनबाट प्राप्त भएको एउटा शिक्षा हो ।
वर्तमान नेपाली समाजमा आमूल परिवर्तन गरेर समाजवाद निर्माण गर्नका निम्ति एउटा बलियो कम्युनिष्ट शक्तिको आश्यकता छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध नगरी त्यो बलियो कम्युनिष्ट शक्ति निर्माण हुन सक्तैन । यही मर्मलाई आत्मसात् गरेर हामीले पार्टी पुनर्गठन अभियान सुरु गर्दा नै नेपालको वाम आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने अवधारणा अगाडि सरेका थियौँ ।
र, केन्द्रीय कमिटीको प्रथम बैठक (२०७८ असोज ५–७) बाट पारित राजनीतिक प्रस्तावमा ‘वामपन्थी शक्तिहरूबीच सहकार्यको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै गई पार्टी एकताका आधारहरू निर्माण गर्नु पनि आजको एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हो’ भनेर उल्लेख गरेका थियौँ ।
यो कार्यभार वहन गर्नुपर्ने दायित्व आज पनि हाम्रो काँधमा छ । तर, के स्पष्ट हुनु पर्दछ भने हामी गैर कम्युनिष्ट पार्टी बन्न सत्तैmनौँ । पार्टी एकता हुनका निम्ति पार्टीको नाम कम्युनिष्ट पार्टी, मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, जनवादी केन्द्रीयताको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता र समाजवादी कार्यक्रम एवं कार्यदिशा मुख्य आधार हुन् ।
यी मुख्य आधारमा एकरूपता नभइकन पार्टी एकता हुन सक्दैन । सहकार्य, कार्यगत एकता र मोर्चाबन्दी भने तात्कालिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्दाहरूमा दृष्टिकोण मिल्नेहरूका बीच गर्न सकिन्छ । त्यसका निम्ति हामीले पहल गर्नुपर्छ ।
हामी इतिहासको एउटा विशिष्ट मोडमा छौँ । हालै सम्पन्न निर्वाचनपश्चात् मुलुकको स्वतन्त्रता र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा र विकास, नेपाली क्रान्तिका उपलब्धिहरूको रक्षा र थप विकास एवं विस्तार गर्ने जस्ता गहन जिम्मेवारीहरू बहन गर्न हामी झनै जिम्मेवार हुनुपर्ने र कठोर मिहेनत गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
अर्कोतर्पm, पार्टीलाई नयाँ ढंगले पुनर्गठन एवं रूपान्तरण गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनको दिशामा जानबाट रोक्ने र समाजवादी क्रान्तिको कार्यदिशालाई सशक्त ढंगले अगाडि बढाउने दायित्व पनि हाम्रो काँधमा छ । यी गहन जिम्मेवारी र दायित्व बहन गर्न हामी सुव्यवस्थित रूपमा संगठित एवं परिचालित हुनुपर्छ ।
हामीले पहिलेदेखि नै भन्दै आएका छौँ कि, हाल नेपाली राजनीतिमा व्याप्त व्यक्तिवादी अहंकारवाद, दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद, चरम गुटबन्दी र निरंकुश एवं स्वेच्छाचारी प्रवृत्तिका विरुद्ध तिखो वैचारिक संघर्ष सञ्चालन गरेर मात्रै उपर्युक्त जिम्मेवारीहरू पूरा गर्न र दायित्व वहन गर्न सक्ने छौँ ।
त्यसैले आउनोस् हातमा हात र काँधमा काँध मिलाएर उपर्युक्त गहन जिम्मेवारी पूरा गर्न र दायित्व वहन गर्न दृढ संकल्पित भएर अगाडि बढौँ । नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र एकताको अभियानलाई सफलतामा पुर्याउने र समाजवादको झण्डालाई माथि उठाउने महान अभियानमा दृढ विश्वासका साथ जुटौँ ।
नेता तथा कार्यकर्ताको सक्रियतामा सशक्त संगठित शक्तिको निर्माण र परिचालनमा नै सफलता निर्भर गर्दछ । सशक्त संगठित शक्ति निर्माण गरेर दृढ निश्चय र गतिशीलताका साथ हामी अगाडि बढ्यौँ भने सफलता सुनिश्चित छ ।
(नेकपा (एकीकृत समाजवादी)को राजधानीमा माघ २१ र २२ गते बसेको केन्द्रीय कमिटीको पाँचौ बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको सम्पादित अंश ।)
Design : Aarush Creation
माधव नेपाल । अध्यक्ष, नेकपा (एकीकृत समाजवादी)