सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारी बिदा पुनर्विचार गर्नुपर्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताए । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘हाम्रा सरकारी बिदाहरू धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ । यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ । गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ,’ प्रचण्डको भनाईलाई उद्धृत गर्दै प्रधानमन्त्रीको प्रेसनोटमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको प्रचण्डको भनाई थियो । बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णयसँगै प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १६:२५