एउटा गरिब किसान र उसकी बुढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरूसँग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिङ्ग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिसहरूको स्वास्थ्य अवस्था र कमजोरी देखेर कायरजस्तै गरी डराउँथ्यो ।
यसले गर्दा एकदिन उसले एउटा कठोर घोषणा गर्दै पूरै प्रान्तका बुढाबुढीलाई तुरुन्तै मारिदिनू भन्ने व्यहोराको आदेश दियो । वास्तवमा त्यो बर्बरिक काल थियो र बुढाबुढीलाई मर्नको लागि एक्लै छाड्नु सामान्य नै थियो । गरिब किसानले भने आफ्नी आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो कठोर हुकुम सुनेर उसको मन वेदनाले भरियो ।
तर कसैले पनि राज्यपालको आदेशलाई नकार्न सक्दैनथ्यो । त्यसैले उक्त नौ जवानले आफ्नी आमालाई त्यो समयमा सबैभन्दा दयालु मानिने मृत्यु दिनको लागि तयारी गर्यो । सूर्यास्तमा, जब उसको दैनिक कार्य सकियो, तब उसले केहि अन्नसहित आफ्नी असहाय आमालाई बुइँमा बोक्यो र पहाडको चुचुरोतर्फको दर्दनाक यात्रा सुरु गर्यो ।
बाटो निकै लामो र अप्ठ्यारो खालको थियो । अनेकौ साँघुरा बाटाहरूले गर्दा धेरै ठाउँमा ऊ अल्मलिन पुग्यो र कतिपय ठाउँमा बाटो बिरायो पनि । तर उसले त्यसको वास्ता गरेन । जुनसुकै बाटो गए पनि उसलाई केही फरक पर्दैनथ्यो । उकालोमा ऊ अन्धाधुन्ध अगाडि बढिरह्यो । उक्त पहाडको शिखरमा नाङ्गो भाग थियो ।
जहाँ छोराछोरीले आफ्ना आमाबाबुलाई लगेर एक्लै छाड्थे र ऊ त्यतैतर्फ लागिरहेको थियो । बुढी आमाको आँखा त्यति धमिला त थिएनन्, तर छोराले अल्मलिएर एकपछि अर्को बाटो परिवर्तन गर्दै अघि बढेपछि उनको प्रेमिल हृदय अत्यन्तै अत्तालिन थाल्यो । उनको छोरालाई पहाडका बाटाहरूबारे राम्रो ज्ञान थिएन र उसलाई फर्किने बेलामा खतरा हुनसक्थ्यो ।
यही चिन्ताले ती बुढी आमाले अगाडि बढ्दै गर्दा आफ्नो हातले भ्याउने ठाउँको रुखविरुवाका हाँगाविङ्गाहरू निमोठिन् र केहि पाइला कट्नेबित्तिकै बाटोमा खसाउँदै गइन् । यसले गर्दा उनीहरूले छोडेर गएको साँघुरो बाटोको ठाउँठाउँमा हाँगाविङ्गाहरूको थुप्रो देख्न सकिन्थ्यो । अन्त्यमा उनीहरू पहाडको टुप्पोमा पुगे ।
थकित र निराश किसानले विस्तारै आफ्नी आमालाई भुइँमा बिसायो र आमाप्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्न उसले एउटा आरामदायी ठाउँ खोज्यो । भुइँमा झरेका सल्लाका पातहरूलाई जम्मा गर्दै उसले विछ्याउँदै आफ्नी बूढी आमालाई उठाएर त्यसमाथि राख्यो । त्यसपछि आँशु भरिएका आँखा र दुखिरहेको मुटु लिएर उसले आमाबाट विदा माग्यो ।
छोरालाई आफ्नो अन्तिम आदेश दिनेबेलामा निस्वार्थ मायाले भरिपूर्ण आमाको आवाज काँपिरहेको थियो । ‘तिम्रा आँखाहरू कहिल्यै पनि कमजोर नहुन् मेरो छोरा !’ उनले भनिन्, ‘पहाडको बाटो खतरा नै खतराले भरिपूर्ण छ । सावधानीपूर्वक हेर्दै हिँड र जुन बाटोमा रुखविरुवाका हाँगाविङ्गाहरू थुप्रिएका छन् त्यहि बाटोलाई पछ्याउँदै जाऊ । तिनीहरूले तिमीलाई घरसम्म पुर्याउने छन् ।’
छोराका भावविभोर आँखाहरूले पछाडि बाटोतर्फ हेरे, बुढी आमाको फुटेका र चाउरी परेका कर्मशील हातहरूलाई हेरे । भित्रभित्रै उसको मन छियाछिया भयो र भुइँतिर शिर निहुर्याउँदै उसले विलाप गर्यो, ‘ए मेरी आदरणीय आमा, हजुरको ममता देखेर मेरो मुटु नै टुक्राटुक्रा हुन्छ ! म हजुरलाई एक्लै छोडेर जान सक्दिन । हामी आमाछोरा सँगसँगै घरसम्मको बाटो पत्ता लगाउनेछौं र मर्नुपरे बरु सँगै मर्नेछौं ।’
उसले फेरी एकपल्ट आफ्नो भारीलाई बोक्यो (कति हलुङ्गो लाग्यो उसलाई आफ्नी आमा !) र जूनेली प्रकाशमा आमाले भुइँमा झारेका हाँगाविङ्गालाई पछ्याउँदै तल उपत्यकामा रहेको आफ्नो सानो झुपडीतर्फ लाग्यो । उसको भान्छा कोठाको कुनामा खानेकुराहरू भण्डारण गर्नको लागि एउटा गोप्य भण्डार थियो, जो हत्तपत्त कसैको नजरमा पर्दैनथ्यो । उसले आफ्नी प्यारी आमालाई त्यहीँ लुकायो ।
उसले आमालाई आवश्यक पर्ने सबै कुराहरू लागिदिन्थ्यो र आफूले लुकाएको कुरा कसैले पत्तो लगाउला भनेर सतर्कता अपनाउँथ्यो । समय बित्दै गयो र उसले सुरक्षीत महसुस गर्दै गयो । तर त्यतिबेला नै राज्यपालले आफ्नो शक्ति दर्शाउने हेतुले फेरी अर्को अविवेकी आदेश दियो । उसको माग थियो कि उसका सबै रैतीले खरानीको डोरी बनाएर उसलाई भेटी चढाउनुपर्ने थियो । डर र त्रासले गर्दा सारा प्रान्त नै थरथर काँप्यो ।
आज्ञा बाध्यात्मकारी थियो र पूरै साइनिङ्ग प्रान्तमा कसले पो खरानीको डोरी बनाउन सक्थ्यो र ? अत्तालिएको किसानले एकरात आफ्नी आमालाई राज्यपालको त्यो अचम्मलाग्दो आदेशबारे बतायो । उनले ‘पर्ख ! म यसबारे सोच्नेछु । म सोच्नेछु’ भनिन् । अर्को दिन उनले छोरालाई खरानीको डोरी बनाउने उपाय बताइन् । र उसले यो जान्न खोज्यो कि कहाँबाट उक्त किसानले त्यस्तो ज्ञान प्राप्त गरेको थियो । किसानले सोच्यो, ‘अब अन्ततः मैले सबै सत्य भन्नै पर्छ र उसले आफ्नो सबै कथा खोल्यो ।’
राज्यपालले सविस्तार सुन्यो र त्यसपछि मौनधारण गर्दै गहिरो सोचमा डुब्यो । धेरैबेरपछि उसले आफ्नो शिर उठायो र गम्भीर मुद्रामा भन्यो, ‘हाम्रो प्रान्तलाई युवाहरूको बलले मात्र पुग्दैन रहेछ, ‘शायद मैले केश फुल्दै गएपछि मान्छेमा ज्ञान पनि बढ्दै जान्छ,’ भन्ने भनाइलाई बिर्सेछु । यति भनेपछि उसले त्यतिखेर नै आफ्नो कठोर नियमलाई अन्त्य गर्यो र वृद्धवृद्धालाई मार्नुपर्ने व्यवस्थाको अन्त्य भयो ।
सत्यपाटी संवाददाता । काठमाडौं